मकर संक्रान्ति किन विशेष ?

पुस २९, २०७६, सुरेशचन्द्र रिजाल

धर्म भनेकै विज्ञान हो र विज्ञान भनेकै प्रकृति हो । विज्ञानले प्रकृतिमा भएका कुरालाई मात्र खोज तथा अनुसन्धान गर्ने गर्छ भने धर्मले प्रकृति र खगोलको संयुक्त रूपमा खोज तथा अनुसन्धान गहिरो तरिकाले गर्ने गर्छ । पृथ्वी अण्डाकार छ भनेर सबैभन्दा पहिले खगोल शास्त्रले जानकारी गराइसकेको थियो । सूर्यबाट हाम्रो दूरी कति टाढा छ भन्ने कुरा हाम्रो धर्म शास्त्रका धेरै पुस्तकमा ऋषि महर्षीहरुले उल्लेख गरिसकेका थिए, जुन आधुनिक विज्ञानले पत्ता लगाउनुभन्दा पहिले नै महर्षीहरुले पत्ता लगाएका हुन् । धर्मले कोटि (करोड वर्ष) को हिसाब राख्ने गर्छ । ग्रह, राशि तथा नक्षत्रको ज्ञान सयौं वर्षपहिले नै भएकाले प्राचीन ग्रन्थ वेदमा प्रकृतिसम्बन्धी धेरै कुरा मन्त्रका माध्यमबाट उल्लेख भइसकेका छन् ।
सम्पूर्ण हाम्रो जीवन र धर्ती केवल ग्रह राशि तथा नक्षत्रको आधारमा चलिरहेको छ । पिण्डहरुमा सानोभन्दा सानो हलचल हुनेबित्तिकै हाम्रो मन तथा वातावरणमा गहिरो प्रभाव पर्ने गर्छ । वर्षहरुमा पर्ने अलग अलग संक्रान्तिको पनि फरक फरक महत्त्व हुने गर्छ । अरु संक्रान्तिभन्दा मकर संक्रान्तिको चर्चा धेरै हुने गरेको छ । ६ महिना सूर्य दक्षिणायनमा बसेपछि माघबाट उत्तरायण हुने गर्छ । पक्ष, राशि, ऋतु र अयन परिवर्तन हुनु तथा सूर्य एउटा राशिबाट अर्को राशिमा प्रवेश गर्ने समयलाई संक्रान्ति भनेर भनिन्छ । वर्षमा १२ वटा संक्रान्ति पर्छन् । त्यसमध्ये चारवटा संक्रान्तिलाई बढीभन्दा बढी महत्त्व दिइएको छ । मेष भन्नाले वैशाख, कर्कट भन्नाले साउन, तुला भन्नाले कात्तिक र मकर भन्नाले माघे संक्रान्ति गरी चार वटालाई विशेष महत्त्वका साथ हेरिने गरेको छ । अरु संक्रान्ति पनि पवित्र नै छन् तर विशेष चार वटालाई लिइएको छ ।


सूर्य उत्तरायण भएपछि विभिन्न धार्मिक यज्ञ, अनुष्ठानहरु सुचारु हुने हुँदा पवित्र नदीमा गएर स्नान र साधना गर्नका लागि शुभ हुने भएकाले पनि नदी तलाउ या गंगामा गएर नुहाउने परम्परा रहिआएको छ । दक्षिण दिशामा पितृहरुको निवास रहन्छ भने उत्तर दिशामा भगवानहरुको निवास हुने भएकाले उत्तरायण या मकर संक्रान्तिको विशेष महत्त्व छ । धार्मिक मान्यता तथा परम्परालाई हेर्दा मकर राशिको मालिक शनि ग्रह हुन् भने मंगल ग्रह मकर राशिमा उच्च हुने भएकाले शनिलाई आफू अनुकूल बनाउन तिल चढाउने तथा मंगल ग्रहले शुभ फल दिनका लागि सख्खर तथा सख्खरबाट बनाइएका परिकार चढाउने र खाने परम्परा तान्त्रिक विधिमा रहेकाले विशेष काठमाडौंबासीहरुमा चाकु तथा तिल खाने परम्परा छ ।
नेपालमा बहुजाति र बहुभाषीको बसोबास भएकाले आफ्नो परम्पराअनुसार माघे संक्रान्ति पर्व मनाइने गरिन्छ । जातजाति, रहनसहन र भेषभूषाका आधारमा मौलिक परम्परामा रहनुपर्ने शास्त्रीय मान्यता छ ।
(रिजाल ज्योतिषी तथा वास्तुविद् हुन् । उनी दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव समेत हुन् ।)

धेरै पढिएको

ताजा समाचार