
धनुषा, ०७६ माघ ८ गते ।
धनुषाको १८ वटा स्थानीय तहमध्ये १३ स्थानीय तहलाई कारवाही गरिएको छ । समयमा नगर राजश्व नबुझाएको, लेखापरीक्षण र नगरको परिषद् नगरेकाले कारवाही स्वरुप १३ स्थानीय तहको अनुदान कटौती गरिएकोे कोष तथा लेखा नियन्त्रण कार्यालय प्रदेश २ का प्रमुख विनोद गेलालले जानकारी दिएका छन् । वित्तीय व्यवस्था ऐनमा नबस्ने र समायोजन भएका कर्मचारीलाई हाजिर समेत नगराएकाले गर्दा कतिपय स्थानीय तहलाई कारबाही गरिएको छ ।
कारवाहीमा पर्ने धनुषाको १३ स्थानिय तहमध्ये जनकपुरधाम उपमहानगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, मुख्यापट्टी मुसहरनिया, नगराइन नगरपालिका, कमला नगरपालिका, बटेश्वर गाउँपालिका, औरही गाउँपालिका, जनकनन्दनी नगरपालिका , गणेशमान चारनाथ नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, मिथिला बिहारी नगरपालिका र हँसपुर नगरपालिका रहेका छन् ।
धनुषाका सबैला नगरपालिका, शहीदनगर नगरपालिका, विदेह नगरपालिका, धनौजी गाउँपालिका र लक्षमिनियाँ गाउँपालिका भने कारबाहीबाट बचेका छन् । यी पाँच स्थानीय तहले समयमै सबै काम गरेकोले अनुदान पठाउने निर्णय भएको कोष लेखा प्रदेश २ प्रमुख विनोद गेलालले जानकारी दिएका हुन् ।
स्थानीय तहले सङ्कलन गरेको राजश्वमध्ये ४० प्रतिशत रकम प्रदेश सरकारलाई बुझाउनुपर्ने प्रावधान भएपनि राजश्व नबुझाउने स्थानीय तहको अनुदान कटौती गरि कारवाही गरिएको हो ।
प्रदेश सरकारलाई राजश्व नबुझाउने स्थानीय तहलाई चाँडै रकम दाखिला गर्न निर्देशन दिइएको भए पनि अधिकांश स्थानिय तहले बेवास्ता गरेको कोष लेखा प्रदेश २ प्रमुख विनोद गेलालले बताए ।