
धनुषा, ०७६ चैत्र ६ गते ।
प्रदेश २ सरकारले सामाजिक विकासा मन्त्रालयले स्वास्थ्य निर्देशनालयमार्फत १५९ देशसम्म फैलिएको कोरोना भाइरसको संक्रमण हुन नदिन उच्च सतकर्ता अपनाएको निर्देशनालयका निर्देशक डा. हरिश्चन्द्र साहले बताउनुभएको छ । कोरोना भाइरस रोगसम्बन्धी पत्रकारसंग अन्तरक्रिया आयोजना गर्दै सामाजिक विसका मन्त्रालयले स्वास्थ्य निर्देशनालयमार्फत प्रदेश २ को २३ ठाउँमा हेल्प डेष्क स्थापना गरिएको बताएका छन् ।
प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमण हुन नदिनका लागि भारतसंग खुल्ला सिमाना नाकाहरुमा विशेष निगरानीका साथै यात्रुहरुलाई चेकजाँच गरेर मात्रै आवतजावत गर्न दिएको निर्देशक साहले जानकारी दिनुभयो । संक्रमित व्यक्ति फेला परेको खण्डमा प्रदेश २ को ५ ठुला अस्पतालमा उपचारको लागि व्यवस्था गरिने गरि तयारी गरिएको बताउनुभयो ।
स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत डा. विजय झाका अनुसार नारायणी उपक्षेत्रीय अस्पताल विरगंजमा ५० वेड, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ३ वेड, नेशनल मेडिकल कलेज विरगंजमा ५० वेड, जानकी मेडिकल अस्पताल जनकपुरको रमदैयामा ६० वटा, सिटी अस्पतालमा २० गरि ८० वटा र प्रादेशिक अस्पताल जनकपुरमा १० वटा आइसोलेसन वेडको व्यवस्था गरिएको बताउनुभयो ।
प्रदेश २ मा विरामी निकै सिकिस्त भएको खण्डमा भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको खण्डमा जानकी मेडिकल कलेजमा १० वटा भेन्टिलेटर, प्रादेशिक अस्पतालमा ३ वटा, नेशनल मेडिकल कलेज विरगंजमा २६ वटा, नारायणी उपक्षेत्रीय अस्पतालमा ५ वटा भेन्टिलेटरको व्यवस्थापन गरिएको डा. विजय झाले बताउनुभयो ।
दिपेन्द्रप्रसाद सिंह