उखरमाउलो गर्मीको मारमा विद्यार्थी, शिक्षण सिकाई प्रभावित, सरोकारवाला निकाय मौन

आदर्श सिंह
धनुषा,०८० भदौ १८ गते ।
तराई मधेशको उखरमाउलो गर्मीको कारणले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरु सास्ती भोग्न बाध्य भएका छन् ।

धनुषाको बटेश्वर गाउँपालिका –२ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय सीतापुरमा करिव ४ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयको भौतिक वातावरण बाहिरबाट राम्रो देखिएपनि डेढ दशक अघि जस्तापाताले छाएको भवनको छानो खियाले छतविक्षत अवस्थामा छ । सामान्य वर्षा हुँदा पनि कक्षाकोठामा पानी चुहिएर शिक्षण सिकाई नै प्रभावित हुने गरेको छ भने अहिले गर्मीले कक्षाकोठाभित्रको तापक्रम अध्यधिक भएर बस्न सक्ने अवस्था छैन् । गर्मीले कक्षाकोठाभित्र एक मिनेट पनि बस्ने अवस्था नभएको अवस्थामा विद्यालयले विद्यार्थीहरुलाई कक्षाकोठामा कोचिएर पढाउन बाध्य छन् । यस्तो अवस्थामा कसरी गुणस्तरिय शिक्षा दिन सकिएला भन्ने प्रश्न उब्जिएको छ ।

https://fb.watch/mR1bYZvyVA/

विद्यालयको कक्षाकोठामा अहिलेसम्म पंखाको व्यवस्था गर्न सकिएको छैन् । एउटै कक्षाकोठामा ५० देखि ६० जना विद्यार्थी उपस्थित हुने गरेकोमा अहिले गर्मीले कक्षाकोठामा बस्ने अवस्था नभएर विद्यार्थीको उपस्थिती समेत घटेको विद्यालयका प्रधानाध्यापक राजनारायण मण्डलले बताए ।


बटेश्वर गाउँपालिका भित्र १६ ओटा सामुदायिक विद्यालय छ । अधिकांश विद्यालयको छानो जस्तापाताले छाएको छ । वर्षौ पुरानो खियाले जर्जर अवस्थामा रहेको छानो र कक्षाकोठामा पंखाको व्यवस्था नहुँदा गर्मीले विद्यार्थीहरु विरामी हुने गरेको छ । कक्षाकोठा भित्र बसेर पढने वातावरण नभएको सीतापुर विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी नविन मण्डलले बताए । उनले भने कक्षाकोठामा बाहिरबाट हावा आउदैनन, पसिनाले कपडा भिजेर फोहोर हुने, गन्हाउनुको साथै टाउको दुख्ने, शरिर पोल्ने, ज्वरो लाग्नेलगायतको समस्या देखिएको छ ।


विद्यालयमा विजुलीवत्तीको व्यवस्था छ तर पंखा खरिद गर्न रकम नभएकाले समस्या भई रहेको प्रधानाध्यापकले बताएका छन् । गर्मीले विद्यालयमा अहिलेसम्म २० जना भन्दा बढी विद्यार्थी वेहोस हुने, टाउको दुख्ने, ज्वरो लाग्नुको साथै लु को समस्या देखिएको छ । पंखाको लागि वडा कार्यालयदेखि पालिकासम्म मौखिक र लिखित रुपमा माग गरिएको विद्यालय व्यवस्थापन समिती का अध्यक्ष गणेश ठाकुरले बताए । उनले भने पालिकामा पटक पटक पंखाको लागि पहल गरिएको भएपनि बजेट नभएको भन्दै झारो टार्ने काम भई रहेको बताए ।


शिक्षाको अधिकार स्थानिय सरकारको मातहतमा छ । तर स्थानिय सरकारले शिक्षा क्षेत्रमा गर्दै आएको वेवास्ताका कारण विद्यार्थी र शिक्षक, कर्मचारीहरु समस्याको मारमा परेका छन् । कक्षाकोठा प्रवेश गरेपछि विद्यार्थी अवस्था देखेर आफुहरुलाई दया लाग्ने गरेको शिक्षक राजकुमार महतोले बताए । विद्यार्थीहरुले कक्षाकोठामा पढ्ने वातावरण नभएको र शिक्षकहरुलाई पंखाको लागि आग्रह गर्ने गरेको छ । हामी सरहरुले विद्यालय प्रशासनलाई समस्याको समाधान गर्न आग्रह गर्दा पनि वर्षौदेखि कुनै पहल हुन नसकेको दुखेसो व्यक्त गरे ।


डेढ दशकको सक्रिय शिक्षा पत्रकारिता छोडेर शिक्षक सेवा आयोग पास गरेर विद्यालयमा हाजिर भएका शिक्षक दिपेन्द्र प्रसाद सिंहले विद्यालयको अवस्था निकै नाजुक भएको बताए । उनले भने विद्यालयमा सामान्य वर्षा हुँदा कक्षाकोठामा छानोबाट पानी चुहिएर पढाई हुदैनन्, अहिले अत्यधिक गर्मीले एउटै कक्षाकोठा भित्र ५० देखि ६० जना विद्यार्थीहरु कोचिएर बस्नु पर्ने बाध्यता छ तर कक्षाकोठामा हावाको लागि उचित प्रबन्ध नहुँदा विद्यार्थीहरुमा मानसिक समस्या देखिने गरेको छ । कक्षाकोठामा विद्यार्थीहरु गर्मीले बेहोस हुने, ज्वरो लाग्ने, पसिनाले भिजेर किताव, कापी भिज्नेलगायतको समस्या देखिएको छ । शिक्षकहरुलाई समेत पठनपाठन गराउन समस्या भई रहेको उनले बताए ।


बटेश्वर गाउँपालिका शिक्षा शाखा प्रमुख रामलाल महतोले यस वर्ष बजेट नभएको बताए । उनले भने अर्को वर्ष पंखाको लागि हामीले पालिकाबाट बजेट छुटयाउने आश्वासन दिए । उनले भने अहिले अधिकांश सामुदायिक विद्यालयमा पंखामा नभएर शिक्षण सिकाई प्रभावित हुने समस्या छ, जनप्रतिनिधीहरुलाई समेत यसप्रति गम्भिरता साथ समस्या समाधान गर्नेतर्फ उन्मुख हुन उनले आग्रह गरे ।


माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानिय सरकारको मातहत छ । स्थानिय सरकारले गम्भिरताको साथ शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न सकेको छैन् । जनप्रतिनिधीहरु सडक, माटो र ग्राभेलमै अग्रसर रहेकाले शिक्षा क्षेत्रको अवस्था झन बिग्रदो अवस्थामा छ । जनप्रतिनिधीहरुले शिक्षा क्षेत्रमा देखिएको समस्यालाई समाधान गरि खस्किदो अवस्थामा रहेको शिक्षालाई उजागर गर्न जरुरी छ ।

धेरै पढिएको

ताजा समाचार