
धनुषा, ०७६ माघ २८ गते ।
प्रदेश २ को स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफनो मस्यौदा माघ २८ गते सरकारलाई हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कार्यदलका संयोजक डा. राम केवल साहले सामाजिक विकास मन्त्री नवल किशोर साहलाई हस्तान्तरण गरेका हुन् । सामाजिक विकास मन्त्रिले पाएको स्वास्थ्य निति मस्यौदा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सोही वेला हस्तान्तरण गर्नु भएको छ ।
कार्यदलले प्रदेश सरकारलाई हस्तान्तरण गरेको मस्यौदामा प्रदेश न. २ को स्वास्थ्य क्षेत्रमा देखिएको समस्या, सुधारका लागि गर्नु पर्ने उपाय तथा स्वास्थ्य क्षेत्रको पुर्नसंरचना लगायतको विषयहरु समेटिएका छन् । मुख्यमन्त्री लालबाबु राउतले कार्यदलले तयार गरेको मस्यौदाले प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारलाई मार्ग दर्शक हुने विश्वास व्यक्त गर्नुभएको छ । सरकारी नीतिकै कारण स्वास्थ्य क्षेत्र सोच अनुरुपको सफलता पाउन नसकेको उल्लेख गर्नु हुँदै उहाँले स्वास्थ्य क्षेत्रलाई विश्वासिलो बनाउन पुनः संरचना आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले स्वास्थ्य नीतिको मस्यौदा तयार भए झै सरकारलाई अगामी दिनमा काम गर्न सबै क्षेत्रको नीति बनाउनु आवश्यक रहेको बताउनु भयो । उहाँले अगामी दिनमा सरकारले यस मस्यौदालाई प्रारम्भीक आधार बनाएर आफनो नीति तथा कार्यक्रम बनाउने विश्वास व्यक्त गर्नु भयो ।
सामाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास राज्य मन्त्री अभिराम शर्मा , नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा सहितका वक्ताहरुले मस्यौदा माथि आ–आफनो विचार राख्नु भएको थियो ।
दिपेन्द्रप्रसाद सिंह