
धनुषा, ०७६ चैत्र ४ गते ।
धनुषासहित देशभर एक साथ चैत्र ६ गतेदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारी धनुषामा अन्तिम चरणमा पुगेको छ । परिक्षाको तयारीको क्रममा परिक्षा केन्द्र र केन्द्राध्यक्षको अन्तिम नामावली समेत प्रकाशन गरि केन्द्राध्यक्षलाई अभिमुखिकरण तालिम समेत दिइएको शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख बरखु प्रसाद रजकले जानकारी दिनुभएको छ ।
धनुषा जिल्लाबाट सामुदायिक र संस्थागत बिद्यालयबाट कुल ११ हजार ५ सय ९० जना परीक्षार्थी एसइइ परीक्षामा सहभागी हुने भएको छ । परिक्षामा नियमित तर्फ १० हजार ७ सय ६०, एक्जाम्टेड तर्फ ६ सय र प्राविधिक तर्फका २ सय २० जना गरी कुल ११ हजार ५ सय ९० जना परीक्षार्थी परीक्षामा सहभागी हुने इकाई प्रमुख रजकले जानकारी दिनुभयो ।
धनुषामा परीक्षा संचालनका लागि ४१ वटा नियमित र २ वटा एक्जाम्प्टेड तर्फको गरि जम्मा ४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा बिहान ८ बजेदेखी ११ बजेसम्म हुने र प्राविधिक धारको भने शनिबार समेत परिक्षा सञ्चालन हुनेछ ।
धनुषा जिल्लाभरिमा ४३ जना केन्द्राध्यक्ष, ५५ जना सहायक केन्द्राध्यक्ष, ५ सय ४४ जना निरीक्षक,४ सय २० जना सुरक्षाकर्मी र १ सय ९६ जना सहयोगी कर्मचारी गरी जम्मा १ हजार २ सय ६८ जना जनशक्ति परिचालन हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बरखु प्रसाद रजकले जानकारी दिनुभयो ।
दिपेन्द्रप्रसाद सिंह