धनुषामा ८ सयभन्दा बढी क्षयरोगका बिरामी, २० को मृत्यु

जनकपुरधाम – सरकारले क्षयरोग निर्मुल गर्ने लक्ष्य राखेपनि धनुषामा नयाँ बिरामी फेलापर्ने क्रम भने रोकिएको छैन। बिराट नेपाल मेडिकल ट्रस्ट (बीएनएमटी) भन्ने संस्थाले विगत साढे दुई वर्षमा धनुषामा ३ सय ३० क्षयरोगका नयाँ बिमारी फेला पारेको छ।

बीएनएमटी र जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्नो संयन्त्र परिचालन गरेर फेला पारेको क्षयरोगका बिरामीको संख्या ८ सय ४७ रहेको बताइएको छ।

बीएनएमटीका धनुषा जिल्ला कार्यक्रम संयोजक रामनारायण पण्डितका अनुसार पछिल्लो साढे दुई वर्षमा ३ सय ३० जना नयाँ बिरामी फेला परेका छन्। जसमध्ये ३ सय १८ जनामात्र उपचारको प्रक्रियामा आएको उनको भनाइ छ।

गरिबी र जनचेतनाको कमीका कारण कतिपय प्रभावित उपचारको लागि तयार नहुने र भएपनि नियमित औषधि सेवन नगर्ने समस्या देखिएको पण्डितले बताए। पण्डितका अनुसार नयाँ फेला परेका बिरामीमध्ये उपचारपछि २ सय २० जना निको भइसकेका छन् भने २० को मृत्यु भएको छ।

समुदायमा क्षयरोग प्रभावितहरु अझै लुकेको अवस्थामा रहेकोले सरकारीस्तरका साथै निजी तहबाटसमेत कार्यक्रम सञ्चालन हुनुपर्ने पण्डितले बताए।

धनुषामा प्रति एक लाखमा १ सय ४५ जना क्षयरोग प्रभावित पत्ता लगाउनुपर्ने लक्ष्य राखिएपनि हालसम्म सबै भन्दा बढी १ सय ३ जनामात्र पत्ता लाग्न सकेको छ।

जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार धनुषामा हरेक वर्ष क्षयरोगीको संख्या बढ्दो छ। आर्थिक वर्ष २०७२/०७३ मा धनुषामा ६ सय ५० जना क्षयरोगको बिरामी फेला परेका थिए भने ०७३/७४ मा ७ सय १७, ०७४/७५ मा ८ सय २६ र ०७५/७६ मा ८ सय ४७ जना बिरामी फेला परेका छन्।

धेरै पढिएको

ताजा समाचार