
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नै ५६ अर्ब रुपैयाँभन्दा बढीका नयाँ नोट निष्काशन गरेको छ ।
आर्थिक क्रियाकलापको विस्तारसँगै अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकले नयाँ नोट छापेर बजारमा पठाउने गर्छ । यसबाहेक सरकारको वित्तीय आवश्यकता पूरा गर्नका लागि पनि नोट निष्काशन गरिन्छ ।
राष्ट्र बैंकको एक आन्तरिक प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्म निष्काशन गरिएको नोटको अनुपात ५ खर्ब ६५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
गत असार मसान्तमा यस्तो नोट ५ खर्ब ७ अर्ब ६ करोड रुपैयाँबराबर थियो । असोजसम्म कुल निष्काशित नोटमध्ये ५ खर्ब ४९ अर्ब ९८ करोड रुपैयाँ चलन चल्तीमा छ भने राष्ट्र बैंकसँग १३ अर्ब २७ करोड रुपैयाँ सञ्चितिमा छ ।
अहिले जारी गरिएका नोटहरूले कम्तिमा सवा तीन वर्ष धान्ने राष्ट्र बैंकको दाबी छ । औसतमा नोटको आयु तीन वर्ष हुन्छ, यद्यपि ठूला दरका नोटको आयु पाँच वर्षसम्म हुने गरेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
गत असार मसान्तमा चलन चल्तीमा ५ खर्ब ३ अर्ब २५ करोड रुपैयाँ थियो । असोज मसान्तसम्म चलनचल्तीमा भएको नोटमध्ये पनि आम नागरिकहरूको हातमा ४ खर्ब ५६ अर्ब रुपैयाँ छ भने बैंक तथा वित्तीय संस्थाहरूसँग ९६ अर्ब रुपैयाँ छ ।
बैकिङ प्रणालीभन्दा बाहिर साढे ४ अर्ब रुपैयाँभन्दा बढी नगद हुनुले अनौपचारिक अर्थतन्त्र हाबी भएको देखाउँछ, यसले अर्थतन्त्रमा जोखिम सिर्जना गर्छ । बैंकिङ पहुँच कम हुँदा र बैंकिङ च्यानलमार्फत हुने कारोबारमा बढी नियमन कसिँदा नागरिकले बाहिरबाट नगदमा कारोबार गर्ने क्रम बढ्दै जान्छ ।
यद्यपि साउनदेखि कात्तिकका अवधिमा बैक तथा वित्तीय संस्थाले आफ्नो निक्षेपमा ८९ अर्ब रुपैयाँले वृद्धि गरेका छन् ।
राष्ट्र बैंकको विवरणले कात्तिक मसान्तसम्म बैंकिङ प्रणालीको निक्षेप बढेर ३४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको देखाएको छ । साउनसम्म बैंकिङ प्रणालीको कुल निक्षेप ३३ खर्ब ५४ अर्ब रुपैयाँ थियो ।
न्युज कारोबार