
जनकपुरधाम, पुस ४ गते ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ पुलचौकमा अवस्थित मिथिला विहारी राष्ट्रिय प्राथमिक विद्यालयमा १० जना विद्यार्थीलाई पढाउन ८ शिक्षकले तलव बुझदै आएको छ । विद्यालयको भौतिक संरचना जीर्ण अवस्थामा छ । कक्षाकोठाको झ्याल र ढोका र पर्खाल भत्किएको छ ।
कक्षा ५ सम्म पढाई हुने विद्यालयमा १० जना विद्यार्थी दिनहुँ पढन आएपनि विद्यालयमा ८ जना शिक्षकको दरवन्दी रहेको छ । विद्यालयको कक्षागत विद्यार्थीको रेकर्ड हेर्दा १ सय ५० जना विद्यार्थीको संख्या रहेको छ । तर नियमित विद्यालय आउने विद्यार्थी १० जना मात्रै आउने गरेको विद्यालयका कार्यालय सहयोगी पुरुषोत्तम रजकले बताउनुभयो ।
विद्यालयमा ४ दरबन्दी, २ राहत कोटा र २ जना बालविकास गरि कूल ८ जना शिक्षक र १ जना कार्यालय सहयोगी गरी ९ जना कर्मचारी छन् ।

विद्यालयका प्रधानाध्यापक गीता यादवले ‘विद्यालयको हाजिरी रजिस्टरमा १ सय ५० विद्यार्थी भएपनि सवै विद्यार्थीहरु विद्यालय नआउँदा बाध्य भएर गफ गर्दै समय बिताउनु बाध्यता रहेको बताउनुभएको छ । जलाद नदीको किनारामै बनाइएको विद्यालयमा भवन विगतकोे बाढीले कक्षाकोठा बगाएरपछि विद्यार्थी डरले विद्यालय आउन छाडेको प्रध्यानाध्यापक गिता यादवको बताइन् ।
स्थानीय किसन साहले २०४४ सालमा स्थापना भएको विद्यालयमा विद्यार्थी नहुनु दुःखद रहेको बताउनुभयो । उहाँले विद्यालयमा त प्रत्येक दिन विद्यार्थी भन्दा बढि शिक्षक नै देख्छु , शिक्षकहरु प्रत्येक दिन चौरमा बसेर गफ गरेको देख्दा पटकपटक पढाउन शिक्षकहरुलाई भन्ने गरेको तर शिक्षकहरुको गफमै व्यस्त हुने गरेको बताउनुभयो ।