
महोत्तरी २०७६ पुस १४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीको आयोजनामा पुस १४ गते मानव अधिकार वर्ष पुस्तक २०२० का लागि वार्षिक पूर्व समीक्षा कार्यक्रम जिल्ला समन्वय समितिको सभापति सुरेश प्रसाद सिंहको प्रमुख अतिथ्यतामा सम्पन्न भयो । पूर्व समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अजय साहले महोत्तरी जिल्लामा सन् २०१९ मा भएका मानव अधिकार उल्लंघनका घटनाहरू प्रस्तुत गरेका थिए । इन्सेक जिल्लाप्रतिनिधिले प्रस्तुत गरेका जम्मा ९१ वटा घटनामा ६६ महिला र २५ जना पुरुष पीडित भएका छन् । जस मध्ये ५ जना पुरुष राज्य पक्षबाट पीडित भएका छन् भने बाँकी गैर राज्य पक्षबाट पीडित बनेका छन् । प्रस्तुत घटनाहरुमा बोक्सीको आरोपमा प्रताडित २, बलात्कार १७, बलात्कार प्रयास ९, हत्या ११, हत्या प्रयास १४, जातिय विभेद १, वहुविवाह १८, अपहरण तथा शरीर बन्धक ५ , बालविवाह ५ र बाल यौन–दुव्र्यवहार १ जस्ता घटनाहरु रहेका छन् ।
प्रस्तुत घटनाहरूसंग सम्बन्धीत रहेर प्रमुख अतिथि जिसस सभापति सुरेश प्रसाद सिंहले इन्सेकले प्रत्येक वर्ष मानव अधिकार उल्लघंनका घटनाहरु अभिलेखीकरण गर्ने कार्य सराहनिय रहेको बताउनुभयो । उहाँले अहिले समाज देखिएका धेरै जसो घटनाहरुमा मानव संवेदनशीलता समेत ह््रास भएको देखिएको बताउनुभयो । सभापति सिंहले भन्नुभयो, ‘अहिले अबोध दुधे बालिका देखि ७० वर्षीया वृद्धा सम्म बलात्कारको सिकार बन्नु परेको देख्दा समाज कति विकृतिको खाडलमा भासिएको भन्ने देखिन्छ ।’ उहाँले अहिले बालिका बचाउन नै मुश्लिक भएको अवस्था देखिएको बताउनुभयो । अहिले समाज नैतिक मूल्य, मान्यताको ह््रास भएको बताउँदै सभापति सिंहले भन्नुभयो,‘ आज भन्दा १५–२० वर्ष पहिले यस्ता घटनाहरु हुदैन थियो ।’ उहाँले बालबालिकाहरुलाई नैतिक शिक्षा, मानवीय मूल्य मान्यताका कुराहरु पढाउनु पर्ने आवश्यक्ता रहेको औल्याउँदै हरेक क्षेत्रबाट जनचेतना फैलाउने किसिमको अभियानहरु संचालन गर्नु पर्ने आवश्यक्ता रहेको बताउनुभयो। सभापति सिंहले जिल्ला देखिएका बाल श्रम र सडक बालबालिका तथा वृद्ध बृद्धाको लागि आश्रय स्थल निर्माण गर्नु पर्ने आवश्यक्ता रहेको बताउनुभयो । उहाँले इन्सेकलाई यसको पहल कदमी लिन र आवश्यक सहयोग जिल्ला समन्वय समिति महोत्तरीले गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले मानवअधिकारका सवालमा घटना सार्वजनिक हुनु ठुलो कुरा नभएको त्यसमा पीडित भएकाहरुले न्याय पाउनु ठूलो कुरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महोत्तरीमा मानवअधिकारका धेरै यस्ता घटनाहरु हुने गरेका छन् र त्यस्ता लुकेका र बाहिर नआएका घटनाहरुमा उनीहरुको न्याय र आरोपीतहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने राज्यको जिम्मेवारी हो ।’

अध्यक्ष मण्डलले इन्सेक अभियानमा महोत्तरी पत्रकार महासंघको साथ सहयोग सधै रह्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। कार्यक्रममा महिला अधिकारकर्मी गुन्जा रायले जिल्लामा बलात्कारका घटनाहरूमा बृद्धि हुनु दुःखद् रहेको भन्दै दोषीहरूलाई कडा भन्दा कडा सजाय हुनु पर्ने बताउनुभयो ।उहाँले महिलामाथि हुने हिंसा र बलात्कारका घटना बढ्न नदिन सामाजिक रुपमा सचेतनाको पनि खाँचो रहेको बताउँदै इन्सेकले जनचेतना मुलक कार्यक्रमहरु लिएर ग्रामिण भेगहरु जानु पर्ने बताउनुभयो । पत्रकार राकेश चौधरीले नागरिकहरूको सचेतनाका कारणले घटनाहरू बढी प्रकाशमा आएको बताउनुभयो । कार्यक्रममा पत्रकारहरुको एक प्रसङ्गमा धामीझाक्रीको नाममा महिलामाथी हुने गरेको हिंसा, अस्पतालहरुमा हुने गरेको लापरवाहीका कारण मानवीय क्षति र विभिन्न प्रकारका मानवअधिकारका घटनाहरु बाहिर नआएको सन्दर्भमा उनीहरुलाई न्यायको लागि राज्यले तत्परता देखाउनु पर्ने वक्ताहरुले जोड दिएका थिए ।
त्यसैगरी कार्यक्रमका वक्ताहरुले नेपालले मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरुमा हस्ताक्षर गरेपनि ती कार्यान्वयन नहुँदा मानवअधिकार उल्लंघनको घटना भइरहेको तथा जनचेतनाको अभावको कारण मानव अधिकार उल्लंघनको घटना हुने गरेकोले मानव अधिकार बारे जनचेतना फैलाउने अभियान जस्ता कार्यक्रमहरु संचालन गर्नुपर्नेमा धारणा व्यक्त गरेका थिए । महिला तथा बालबालिकाप्रति बढ्दै गएको हिंसाप्रति चिन्ता व्यक्त गदै सहभागी वक्ताहरुले इन्सेकले मानव अधिकार सम्बन्धी जनचेतना मुलक कार्यक्रम तथा अभियानहरु लिएर विद्यालयमा जानु पर्ने तथा बेला बेलामा अन्तरक्रिया जस्ता कार्यक्रमहरु संचालन गर्नुपर्ने सुझाव दिएका थिए ।