जितेन्द्रप्रसाद सिंह, जनकपुरधाम । संविधान अनुसार कानून नै निर्माण गरी माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क भनिएको छ । तर अभावकाबीच संचालनमा रहेका विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था हुन सकेको छैन् । सरकारले विद्यालय खोल्न अनुमति दिएपनि विद्यालयको लागि आवश्यक पूर्वाधारको लागि बजेट भने पर्याप्त व्यवस्थापन गर्न नसक्दा समस्या हुदै आएको विद्यालयको भनाई छ । भौतिक पूर्वाधारका साथै शिक्षक अभाव पूरा गर्न विद्यालयहरुले अभिभावक र गैरसरकारी संघ संस्थाको मुख ताक्दै आएका छन् ।
धनुुषा जिल्लाको धनुषाधाम नगरपालिका वाडा नं. ४ लक्ष्मीपुरको दलितवस्तीमा नेपाल सरकारले २०५४ सालमा विद्यालय खोल्ने अनुमति दियो । भौतिक पूर्वाधार र बजेट विना स्थानियहरुको मागको आधारमा तत्कालिन जिल्ला शिक्षा कार्यालय धनुषाले लक्ष्मीनियाँस्थित राष्ट्रिय प्राथमिक विद्यालय खोल्न अनुमति दिएपछि गाउँलेहरुले तत्कालिन गौरचनमा लक्ष्मीपुरका बासिन्दाले अस्थायी संरचनाको भौतिक संरचना बनाए । १ विगहा १४ कठठा २ धुर जग्गामा विद्यालय स्थापना गर्न उमेशप्रसाद सिंहको अगुवाईमा घर बन्यो, २०५५ कार्तिक पूर्णिमादेखि त एक सय विद्यार्थीबाट विद्यालय नै शुरु भयो ।
रेडक्रसले पोखरी खनाउनका लागि विद्यालयमा सहयोग गर्यो । गाउँले पोखरी खनेवापत रेडक्रसले चामल दिएको थियो तर गाउँलले श्रमदान गर्दै सो चामल बेचेर विद्यालय बनाउनमै खर्चिएका थिए । विद्यालयमा विद्यार्थीहरुको चाप बढदै जाँदा २०६० सालमा आसमान नेपाल नामक गैरसरकारी संस्थाले समेत २ कोठे कच्ची भवन सहयोग गरेको विद्यालयका प्रध्यानाध्यापक सीता सिंहले जानकारी दिइन । प्रधानाध्यापक सिंहका अनुसार नेपाल सरकारले विद्यालयमा प्रशासनिक खर्च, राहतकोटाका शिक्षक र छात्रवृत्ति रकम मात्रै दिने गरेको छ ।
विद्यालयमा माटोले लिपिएकोे भवन जिर्ण भएपछि २०६० सालमा नेपाल भारत मैत्री संघले १० कोठे भवनको लागि करिव सवाँ करोडको बजेट दिने गरि भवन बनाउन सम्झौता गरेको थियो । तर देशमा माओवादी जनयुद्धले चरर्मोत्कर्षमा रहेकाले गर्दा तत्कालिन समयमा भवनको लागि जिल्ला विकासमा रकम आएर अड्किएको थियो । ठेकेदारले लामो समयपछि अहिले भवन बनाएको छ । भवनसंगै फर्निचर, शौचालय, र विद्यालयको पर्खाल गर्ने योजना थियो तर शौचालय र पर्खाल अधुरै राखेर ठेकेदारले काम बन्द गरेको छ । यस्तै अत्याधुनिक १० कोठे भवन नेपाल भारत मैत्री संघले धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको सपहीस्थित वि.पी माध्यमिक विद्यालय सपही र लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालय, नगराइनस्थित राजेश्वर निधी माध्यमिक विद्यालयमा समेत सहयोग गरेका छन भने लगमा पछवारि टोलस्थित वासुदेव राष्ट्रिय प्राथमिक विद्यालयको भवन निमार्णाधिन अवस्था रहेको छ ।

धनुषाको पूर्वी सिमानाका पर्ने कमलामाई राष्ट्रिय प्राथमिक विद्यालय दलितहरुको बस्तीमा २०५८ सालमा गाउँलेहरुको मागको आधारमा गैरसरकारी संस्थाले सुरुवात गरेका थिए । गाउँलेहरुको श्रमदानले गाउँकै ऐलानी एक विगहा १० कठठा जग्गामा विद्यालय स्थापना गरि आसमान नेपालले नै शिक्षक खटाएका थिए । २०६० सालमा आसमान नेपालले विद्यालयमा २ कोठे पक्की भवन सहयोग गरेको विद्यालका प्रध्यानाध्यापक जिवछ यादवले बताए । यस्तै धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बरमझियास्थित लालबहादुर टोलमा जनता राष्ट्रिय प्राथमिक विद्यालयलाई समेत २ कोठे भवन सहयोग गरेका छन ।
आसमानले मात्रै जाइका सहयोगमा धनुषाको ४० वटा विद्यालयमा २ कोठे भवन सहयोग गरेको आसमान नेपालका परियोजना म्यानेजर दिलिप यादवले जानकारी दिएका छन । आसमानका म्यानेजर यादव भन्छन् केही वर्षपहिले गाउँ गाउँमा विद्यालय खुल्न सकेको थिएन, शिक्षामा विद्यार्थीहरुको पहुँच बढाउन भवन, शौचालय, खानेपानीमा कार्यक्रम केन्द्रित थियो अव लगभग अभिभावकहरुले बालबच्चालाई गुणस्तरिय शिक्षा दिनुपर्छ भन्ने माग गरि रहेकाले सोही अनुसारको आसमानले कक्षाकोठाको व्यवस्थापन, गुणस्तरिय शिक्षा र सुरक्षालगायतको सवालमा विभिन्न परियोजनामाफर्त अहिले धनुषाको डेढ सय विद्यालयमा सहयोग गर्दै आएको बताए ।
धनुषाको ५० विद्यालयमा गैरसरकारी संस्थाले शिशु कक्षाको व्यवस्थापन र श्रृगार्नुको साथै शिक्षकहरुलाई पठन पाठनसम्बन्धित गोष्ठि, तालिमलगायतको समेत सहयोग गर्दै आएको छ । धनुषामै काम गर्ने आफन्त नेपाल नामक गैरसरकारी संस्थाले धनुषाको बटेश्वर गाउँपालिका १ स्थित मटुकमहतो रंकीदेवी आधारभुत विद्यालयमा विद्यार्थीमैत्री शौचालय निमार्ण गरि २०७६ जेठ २० गते उदघाटन गरेका छन । आधारभुत विद्यालय सितापुर भंगहामा २ कोठे भवनको साथै शौचालय र १५ थान कम्प्युटर, बटेश्वर गाउँपालिका वाडा नं. ३ स्थित देवकी नमुना प्राथमिक विद्यालयमा २ कोठे भवन, शौचालय, खानेपानी टयांकी, १५ थान कम्प्युटर, शिशु कक्षाको व्यवस्थापन, पर्खाल पेन्टिङ्ग, वृक्षारोपणलगायतको काम गरेको आफन्त नेपालका कार्यकारी निर्देशक जयप्रकाश मंडलले जानकारी दिएका छन ।
आफन्त नेपालका निर्देशक मंडलका अनुसार बटेश्वर १ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा १५ थान कम्प्युटर, शिवशक्ति उच्च माध्यमिक विद्यालयमा १५ थान कम्प्युटर, राष्ट्रिय प्राथमिक विद्यालय शान्तिपुरमा १५ थान कम्प्युटरलगायत राइट टु एजुकेशन परियोजनामार्फत विद्यालयहरुमा पर्खाल निमार्ण, डेष्क,बेन्च, टुटफुट भएका भmयाल, ढोका मर्मत सम्भारलगायत शिशु कक्षामा पेन्टिङ्ग, शैक्षिक सामाग्रीहरु समेत सहयोग गर्दै आएको श्री मटुकमहतो रंकीदेवी आधारभुत विद्यालय जनमुक्तिनगरका प्रध्यानाध्याक रामवृक्ष महतोले जानकारी दिए । प्रध्यानाध्यापक महतोले भने, हाम्रो विद्यालयले २०५३ सालमा तत्कालिन सांसद रामलखन महतोले आमावुवाको सम्झनामा ८ कठठा जग्गाको दान दिदै उनले आफनो निजी खर्चमा ३ कोठे पक्की भवन र आफनो संसदीय विकास कोषबाट २ कोठे पक्की भवन, इनार र सांसद शुत्रधन महतोको संसदीय बजेटबाट विद्यालयका पर्खाल निमार्ण भएको छ । विद्यालय दानकै रुपमा चलेको छ, सरकारको लगानी भने हामी शिक्षकको तलव, भत्ता, प्रशासनिक मसलन्द खर्च, छात्रवृत्ति रकम र पाठयपुस्तक आउँदै गरेको बताए ।
धनुषाको बटेश्वर गाउँपालिका १ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा एन आर एन नामक गैरसरकारी संस्थाले २ कोठे भवन र फर्निचर सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजदेव महतोले बताए । उनले भने विद्यालयमा सांसद शत्रुधन महतोको संसदीय विकास कोषबाट १० लाखको सहयोगमा पर्खाल निमार्ण गरिएको छ । शिक्षा कार्यालयले समेत सहयोग गर्दै आएको महतोले बताए । एन आर एन जनकपुरका कार्यक्रम संयोजक खडभुषण साहका अनुसार विद्यालयहरुमा अहिले पनि भवन, शौचालय, खानेपानी, पर्खालको आवश्यकता रहेको छ । विद्यालयहरुले माग गरि रहेका छन । कति ठाउँमा जग्गा अभावले हामीले भवन बनाउन सकेका छैनौ ।
अहिले धनुषाको मुखियापटटी मुसहरनिया गाउँपालिका वाडा नं.१ स्थित राष्ट्रिय प्राथमिक विद्यालय र जनकनन्दनी नगरपालिका वाडा नं.३ प्रखेमहुवाको राष्ट्रिय गिरिजा प्राथमिक विद्यालयमा ३८ लाखको लागतमा २ कोठे भुकम्प प्रतिरोधात्मक भवन निमार्णाधिन अवस्थामा रहेको बताएका छन । धनुषामा अन्य गैरसरकारी संघ, संस्था र सामाजसेवीहरुले समेत विद्यालय निमार्णका लागि जग्गा दान, भवनको लागि चन्दा सहयोग गरि रहेका छन ।
धनुषामा मात्रै विदेशी दातृ निकायको आर्थिक सहयोगमा विद्यालयमा भौतिक सम्पदादेखि गुणस्तरिय शिक्षाका लागि एक दर्जन भन्दा बढी गैरसरकारी संस्थाले काम गरि रहेका छन । गैरसरकारी संघसंस्थाले छोटो समयका लागि काम गर्ने गरेको छ । गैरसरकारी संघ,संस्थाले विद्यालयमा काम गरि रहदाँ विद्यालयको भौतिक, शैक्षिक गुणस्तरियमा सुधार भएपनि परियोजना र कार्यक्रम सम्पन्न भएपछि त्यसलाई स्थानिय सरोकारवाला निकायले सवल पक्षलाई जोगाई राख्न सक्दैन, त्यसैले विद्यालयको शैक्षिक अवस्था पुनः विस्तारै पुरानै अवस्थामा फर्किने गरेको शिक्षाविद् राधा कोइरालाको भनाई रहेको छ । शिक्षाविद् कोइराला भन्छिन् गैरसरकारी संघसंस्थाले गरेको सवै कार्यक्रमलाई विद्यालय, स्थानिय तह वा सरकारले अपनत्व लिन नसक्लान् तर निकै प्रभावकारी मानिएका, सवल कुराहरुलाई विद्यालयले दायित्वबोध गरि अवलम्बन गरिनुपर्ने उनले बताइन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !