कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

धनुषा,०७९ माघ १५ गते ।मधेश प्रदेशको सप्तरी बाहेकका सात जिल्ला छाला तथा कुष्ठरोगी विरामीहरुको संख्या बढी भएको एक तथ्यांकले जनाएको छ । कुष्ठरोग अन्त्यका लागि आजैबााट पहल गरौं मुल नाराका साथ ७० औं विश्व कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य निर्देशनालय सपहीले जारी गरेको तथ्यांक अनुसार मधेश प्रदेशमा ४० प्रतिशत कुष्ठरोगी भएको जनाएको छ ।

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका कार्यक्रम फोकल पर्सन राजीवर यादवका अनुसार आर्थिक वर्ष २०७८,०७९ मा देशभर दुई हजार दुई सय ८५ जना कुष्ठरोगी फेला परेकोमा मधेश प्रदेशमा नौ सय १० जना विरामी रहेको बताउनुभयो । फेला परेको कुष्ठरोगीहरुमध्ये दुई हजार ३ सय ७३ जना नियमित उपचारमा रहेको जनाएको छ । देशभर हाल नौ सय ८९ जना महिला कुष्ठरोगबाट प्रभावित रहेको स्वास्थ्य निर्देशनालय सपहीका निमित्त कार्यालय प्रमुख श्रवण कुमार नायकले बताउनुभयो । उहाँले देशभर कुष्ठरोगीको संख्या घटने क्रम भएपनि तराई मधेशको मधेश प्रदेश र लुम्बिनी प्रदेश बढी प्रभावित रहेको बताउनुभयो ।

उहाँले कुष्ठरोग मधेश प्रदेशको समस्या भएकाले यसमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय चनाखो हुन जरुरी रहेको बताउनुभयो । आफुहरुले कुष्ठरोगीहरुलाई घर घरमा खोज्ने अभियानको सुरुवात गर्न लागेको बताउनुभयो । लालगढ कुष्ठरोग अस्पतालका प्रमुख कृष्ण बहादुर तामांगले आफुहरुले कुष्ठरोगीहरुलाई पहिलो प्राथमिकतामा राखेर औषधी उपचार र हेरचाहलगायतको सेवा सुविधामा अग्रसर रहेको बताउनुभयो । उहाँले अस्पतालको सेवालाई थप सुविधायुक्त बनाउन प्रदेश सरकारको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले कुष्ठरोग अभिशाष वा दैविक श्राप नभई किटाणुले संक्रमण भई लाग्ने रोग भएकाले यसको समयमै उपचार गराउन आग्रह गर्नुभयो । कुष्ठरोगीको खोजी गरि समाजलाई थप प्रभावित हुनबाट बचाउन प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय र कुष्ठरोगको सेवा प्रदायक अस्पताललगायतको सरोकारवालाहरुलाई सचेत भई जिम्मेवारी पूर्वक कार्य गर्न आग्रह गर्नुभयो ।

उहाँले खुल्ला सिमानाका भएकाले भारतीय विरामीहरु समेत लालगढ कुष्ठरोग अस्पताललगायतको अस्पतालमा नेपालकै नाम र ठेगाना लेखाई सेवा लिई रहेको सुचना आएकाले यसको रोकथामको लागि सरोकारवाला निकाय जागरुक हुन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा अस्पतालका सामाजिक सुरक्षा शाखाका व्यवस्थापक रमेश चौधरी, खोप प्रमुख लक्ष्मेश्वर झालगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार