
जनकपुरधाम ,२४ पुस ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमा भएको झडपको क्रममा कर्मचारीहरुमाथि हातपात भएको भन्दै कर्मचारी इकाई एशोसिएसन समितिले पुस २५ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कालोपट्टी बाँधी ‘पेनडाउन’ गर्ने निर्णय गरेको छ । ‘पेनडानबाट नगरबासीमा पर्ने असुविधाका लागि क्षमाप्रार्थी छौँ’, समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मंगलबार दिउँसो नगर प्रमुख साहको कार्यकक्षमा विवाद चर्किएपछि कर्मचारी र पत्रकारबीच झडप भएको थियो । झडपको क्रममा वडासदस्य सुनिता मेस्तरनी र महिला कर्मचारी प्रमिला मण्डल, मिना साह र पुष्पा यादव घाइते भएकी छिन् । उनीहरूलाई पत्रकारले कुटपिट गरेको नगरपालिकाका कर्मचारीहरुको दावि गरेका छन् ।
यता, घटनापछि बुधबार नेपाल पत्रकार महासंघले कुटपिट गर्ने नगर प्रमुख पक्षका व्यक्तिलाई कारबाही गर्न भन्दै पाँचदिने अल्टिमेटम दिँदै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापनपत्र बुझाइ सकेका छन् । सोही दिन जनकपुरधाम कर्मचारी इकाई एशोशिएसनले पनि प्रजिअ कणेललाई नै ज्ञापनपत्र बुझाएका छन् ।
पत्रकारबाट कुटिएको भनिएकी महिलाहरू भने प्रादेशिक अस्पताल जनकपुरमा भर्ना छन् । घाइते महिलालाई बिहीबार नगर प्रमुख साह अस्पतालमै पुगेर भेटघाट गरी अवस्था बुझेका छन् । मेयर साहले पनि पत्रकार जबरजस्ती कार्यकक्षमा पुगेर प्रतिक्रिया लिन खोजेको र कुटपिट गरी महिलालाई घाइते बनाएको बताएका छन् ।