
धनुषा । ०७६ पुस २६ गते ।
धनुषाको विदेह नपा १ स्थित २२ घर परिवारको गरिव,दलितहरुको पुरानो वस्ती पोखरीको डिलमा बसेको छ । २२ घरका करिव १ सय ७५ व्यक्ति पोखरीको डिलमा झुपडी बनाएर बसेका छन् । ६१ वर्षीय रामसागर ठाकुर बरहीको वस्तीसंगै टासिएको २ कठामा जग्गा रहेको छ । त्यही जग्गामा उनले घर बनाएर बसेका छन् । २०७२ सालमा आफनो जग्गामा पर्खाल लगाउन थालेपछि स्थानिय दलित वस्तीका बासिन्दाहरुले पर्खाल लगाउँदा सडक छुटयाउन माग गरेपछि स्थानिय रामशिष ठाकुर बरहीलगायत वस्तीका केही व्यक्तिसंग उनको झगडा भएको थियो । सोही क्रममा रिसले चुर भएका अहिले विदेह नपा १ का वडा अध्यक्ष रहेका रामवृक्ष ठाकुर वरहीका भाई रामसागर ठाकुरले जिल्ला अदालत धनुषामा सार्वजानिक पोखरीको डिल जग्गा खिचोला मेटाइ घर दिवाल उठाई चलाई दिन भन्दै मुददा दायर गरेको थियो ।

जिल्ला अदालत धनुषाले २०७५ जेठ ८ गते सार्वजानिक जग्गा स्थानियबासिन्दाले अतिक्रमण गरेको भन्दै २०७६ मंसिरभित्र खाली गराउन भन्दै स्थानिय प्रशासनलाई आदेश दिएको थियो । सोही आधारमा पटक पटक अदालतका कर्मचारीहरु वस्तीमा पुगेर खाली गराउन दवाव दिदै ०७६ पुस २६ गते १२ बजे डोजर लगाएर सो वस्ती भत्काउने योजना बनाएको थियो । तर समयमै राष्ट्रिय मानवअधिकर आयोग प्रदेश २ का संयोजक विरबहादुर बुढामगर, इन्सेक प्रदेश २ का प्रदेश संयोजक राजु पासवान, इन्सेक जिल्ला प्रतिनिधी दिपेन्द्रप्रसाद सिंह, थर्ड एलाइन्स प्रदेश २ का संयोजक विनोद महरालगायत पत्रकारहरु वस्तीमै पुगेर समन्वय गरेपछि केही दिनको लागि वस्तीमा डोजर नचलाउने सहमति भएको छ ।

वस्तीका ५९ वर्षीय हिरालाल दाहा मलाहले आफुहरुको अन्त्य कतै जग्गा जमिन नरहेको बताउँदै विना विकल्प र व्यवस्थापन नगरि वस्ती हटाउँदा आफुहरु विचल्लीमा पर्ने भएकाले वस्ती नहटाउन अनुरोध गरेका छन् । उनले भने यो वस्तीले कसैलाई केही क्षति गरेको छैन्, तत्कालै यस सार्वजानिक वस्तीमा कुनै सरकारी संरचना समेत बन्नेवाला छैन् तर मानवीय भावना समेत नबुझेर रामसागर र वडा अध्यक्ष रामवृक्ष ठाकुरले पावरको प्रयोगमा वस्तीमाथि डोजर चलाउन चाहेको बताए ।
विदेह नपाका मेयर बेचन दासले वडा अध्यक्षले आफनो भाई रामसागर ठाकुरको बचाउको लागि पक्षपाती तरिकाले वस्तीमाथि डोजर चलाउन खोजेको बताएका छन् ।