आधुनिकताको नाममा धर्ममाथि प्रहार, सरस्वती पुजाको नाममा चोक चोकमा अश्लिल भोजपुरी गितसंगित

जयन्त ठाकुर
धनुषा, ०७६ माघ १६ गते ।

वसन्त पञ्चमीका दिन मनाइने सरस्वती पूजा हिन्दु धर्मावलम्बीहरुले धूमधामका साथ मनाउँदैछन् । पहिले विद्यालयहरुमा मात्रै आयोजना हुने सरस्वती पूजा केही वर्ष यता जनकपुरधामका चोक चोकमा मनाउन थालिएको छ ।  पूजा ठाउँ ठाउँमा आयोजना गर्नु एक हिसाबले ठिकै हो । यद्यपि यसका साथै कुसंस्कार समेत विकसित हुँदै गईरहेको छ । हिन्दु धर्ममा माता सरस्वतीको वाहन हँस रहेको कुरा शास्त्रहरुमा उल्लेख रहेको पाइन्छ । तर जनकपुरधामका केही युवाहरुले माता सरस्वतीकै प्रतिमासंग खेलवाड गरेको पाइएको छ ।   जनकपुरधामस्थि जानकी चोकका युवाहरुले माता सरस्वतीलाई हँस वा कमलमा विराजमान भएको देखाउनुको साटो उँटमा सवार भएको प्रतिमा स्थापित गरेको पाइयो ।

सरस्वतीको प्रतिमा संगै भगवान गणेशलाई मोबाइलमा सेल्फी लिदै गरेको प्रतिमा स्थापित गरेका थिए । यस प्रकारको प्रयोग हिन्दु संस्कृतिमाथि प्रहार नै रहेको स्थानीयवासीहरु बताउँछन् ।  नागरिक समाजका अमरचन्द्र अनिल यसलाई विकृतिको संज्ञा दिन्छन् । उनले भने‘हामी आफ्नो संस्कृतिमाथि आफै प्रहार गरिरहेका छौँ, यसलाई निरुत्साहित गर्नु पर्छ । उनले यस प्रकारको विकृतिलाई विद्यालय प्रशासन, स्थानीय सरकार तथा प्रदेश सरकार दोषी रहेको आरोप लगाए । यसलाई निरुत्साहित गर्नका लागि पहिले सम्झाउने, नसम्झे कानूनी कारवाहीसम्म गर्नु आवश्यक रहेको उनको भनाई छ । यता आयोजकमध्येका एक युवा सुशिल कर्णले आफूहरु संस्कृतिमाथि प्रहार नगरेको प्रतिक्रिया दिए । उनले जनकपुरधाममा बढ्दै गरेको विकृति बिरुद्ध आफूहरुले सांकेतिक रुपमा बिरोध गरिरहेको बताए । जनकपुरधाममा पहिला परिक्रमा सडकभित्र माटोको प्रतिमाको पूजा हुँदैन थियो, तर अहिले आएर चोक चोकमा भईरहेको छ, कर्णले भने ‘यो सब बन्द नभएसम्म हामी यस प्रकारको बिरोध प्रत्येक वर्ष गरि रहने छौँ ।’ यिनै युवाहरुले पोहोर वर्ष माता सरस्वती स्कुटीमा सवार भएको प्रतिमा राखेर पूजा गरेका थिए । 

सरस्वती पूजालाई खल्लो बनाउँदै भोजपूरीका अश्लिल गीत

हिन्दु धर्ममा पूजा शान्त चित्त भएर शान्त वातावरणमा गर्ने परम्परा रहेको छ । तर जनकपुरधामको चोक चोकमा आयोजना गरिएको सरस्वती पूजा त्यसको ठीक विपरित देखियो । जनकपुरधामका चोक चोकमा आयोजित सरस्वती पूजाको पण्डालमा  हिन्दी तथा भोजपुरीका अश्लिल गीतहरु सुनियो ।  विद्याकी अधिष्ठात्री माता सरस्वतीको पूजा शान्त चित्त भावले गर्नु पर्नेमा भोजपुरी तथा हिन्दीका अश्लिल गीतहरु बजाएर मनाउन थालिएकोमा स्थानीयवासी समेत दुःखी छन् । पहिलेको तुलनमा सरस्वती पूजाको अवसरमा अश्लिल गीत बजाउनेहरुको संख्यामा कमी आएको दावी गर्दै प्याब्सनका प्रदेश सचिव विश्वलाल सिंहले विद्यालयहरुलाई भजन मात्रै बजाउनका लागि आग्रह गरेको जानकारी दिए । 

धार्मिक समारोहमा हुने यस प्रकारको कृयाकलापलाई निरुत्साहित गर्नका लागि सुरक्षा निकाय तयार रहेको बताउँछन् धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल । उनले पूजाको अवसरमा मोटरसाइकल चेकजाँच समेत तिव्र पारिएको जानकारी दिए ।   शालिन एवं सभ्य संस्कृतिको संरक्षणका लागि संस्कृतिविदहरुलाई अगाडी आउनु अपरिहार्य रहेको स्थानीयवासीको ठहर छ ।

धेरै पढिएको

ताजा समाचार