
धनुषा, ०७६ माघ २३ गते ।
बालुवा गिटटी खन्नपाउनुपर्ने भन्दै धनुषाको गणेशमान चारनाथ नगरपालिकामा ठेकेदारहरुले अनिश्चितकालिन तालाबन्दी गरिएको छ । निर्माण ब्यबसायी तथा ठेक्केदारहरुले अनिश्चितकालिन तालाबन्दी गरेपछि नगरपालिकाको कामकाज प्रभावित भएको छ । ठेकेदारहरुले नगरका प्रमुख रामबाबु यादव र प्रहरी प्रशासनले अनावश्यक दुःख दिएको भन्दै तालाबन्दी गर्नुपरेको बताएका छन् ।
नगरपालिका र मिथिला कन्ट्रक्सन बिच कमला खोलाबाट बालुवा तथा ढुंग्गा उत्खन्नका लागि वार्षिक ६० लाखमा सम्झौता भएको छ । सम्झौताअनुसार ठेकेदारहरुले प्रत्येक दिन नगरपालिकामा रु. ४० हजार बुझाउनुपर्ने आन्तरिक सहमति भएको छ । ठेकेदारहरुले समयमा किस्ता नबुझाएपछि समयमा किस्ता रकम बुझाउन ताकेता गरेपछि वाहना बनाएर नगरपालिकामा निमार्ण व्यवसायीहरुले तालाबन्दी गरेको मेयर यादवले बताएका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ चिसापानी र सिरहाको कर्जन्हा १ स्थित कमला खोलाको बगरमा स्टक गरिएको ढुँगा, बालुवा, जेसिबीद्वारा लोड गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको टोलीले टिपर जेसिबीसहित ४ जनालाई नियन्त्रणमा लिएपछि ठेकेदारहरु तालाबन्दी गरेको बताइएको छ ।
यता, ठेकेदारहरुले नगरपालिकाको सम्झौता बमोजिम ठेक्का रकम समेत बुझाई सकेकाले काम गर्न नदिए उक्त रकम फिर्ता गर्नु पर्ने माग गरेको छ ।