पर्यावरण संरक्षणकर्ता दिलिपको न्याय माग्दै पूर्वपश्चिम राजमार्गमा प्रदर्शन


धनुषा, ०७६ माघ २९ गते ।
पर्यावरण अभियन्ता दिलिप महतोकोे न्यायको लागि माग गर्दै पूर्वपश्चिम राजमार्गको ढल्केवरमा माघ २९ गते प्रदर्शन गर्दै आधा घण्टा चक्काजाम गरिएको छ । चुरे तथा वनजंगल संरक्षण अभियानकर्मीहरुले राजमार्ग अवरुद्ध गर्दै महतोलाई प्रथम राष्ट्रिय पर्यावरण शहिद घोषणा गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।


सामाजिक अभियन्ता सरोज रायको विशेष उपस्थितीमा भएको प्रदर्शनमा सहभागीहरुले दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर, घटनाको छानविन गर्न उच्च स्तरिय छानविन समिति गठन गर, दोषीलाई कडा भन्दा कडा कारवाही गरलगायतको नारा लगाएका छन् । विरोध ¥याली ढल्केवर चोकको विभिन्न भागको परिक्रमा गर्दै पूर्वपश्चिम महेन्द्र राजमार्ग आधा घण्टा अवरुद्ध गरेका छन् ।


कोणसभामा सामाजिक अभियन्ता सरोज राय, पिछ्डावर्ग समाज(ओबिसी)का केन्द्रिय अध्यक्ष राम कुमार महतो, तराई मधेस राष्ट्रिय परिषदकी सदस्य गुञ्जा राय, तराई मधेश चुरे संरक्षण अभियानका अध्यक्ष सुनिल यादवलगायतका वक्ताहरुले हराभरा तराई मधेशलाई सुख्खाग्रस्त बनाउनका लागि केही उद्योगीहरुले अवैध तरिकाले क्रसर संचालन गर्दै आएकाले त्यस्ता क्रसर संचालकहरुलाई कारवाही गर्नु पर्नेमा जोड दिएका छन् । मिथिला नगरपालिकाको वडा नं. ५ श्रीपुरस्थित औरही खोलामा अवैध तरिकाले खोला उत्खन्न हुदै आएकोमा विरोध गर्ने २५ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोलाई पुस २५ गते चुरियामाई बालुवा प्रशोधन केन्द्रमा कुटपिट गर्दै टिपरले किचेर हत्या गरेका थिए । पर्यावरण अभियन्ता महतोको हत्या लगतै देशभरका सामाजिक अभियन्ताहरुले महतोलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै आएका छन् ।

धेरै पढिएको

ताजा समाचार