
धनुषा : प्रदेश नं. २ को धनुषाको एक स्थानीय तहमा भोली (विहिबार) सार्वजनिक विदाको घोषणा गरिएको छ ।
धनुषाको शहिदनगर नगरपालिकाले विहिबार सार्वजनिक विदाको घोषणा गरेको हो । गत मिति २०७६ माघ २७ गतेको कार्यपालिकाको निर्णय अनुसार एक दिने सार्वजनिक विदाको घोषणा गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाद्धारा जारी गरिएको एक पत्रमा एक दिने सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।
शहिदनगर नगरपालिका जनयुद्धको इतिहास बोकेको भन्दै २५ औं जनयुद्ध दिवसको अवसरमा एक दिने सार्वजनिक विदाको घोषणा गरेको हो । विहिबार शहिदनगर नगरपालिकाभित्र पर्ने सबै सरकारी सँस्थानहरु बन्द रहने जनाइएको छ । समुदायिक विद्यालय सहित सरकारी कार्यालयहरु एक दिने छुट्टी बस्ने भएको छ ।
“शहिदनगर नगरपालिकाको मिति २०७६/१०/२७ गते को निर्णयानुसार महान जनयुद्ध दिवस २०७६ को अवसरमा मिति २०७६ फागुन १ गते यस नगरपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरुमा सार्वजनिक विदा गरिएको व्यहोरा सबैमा जानकारी गराईन्छ ।”– पत्रमा उल्लेख छ । यसका साथै, शुक्रबारदेखि पुनः कार्यालयहरु सँचालन गर्ने भनिएको छ ।