
धनुषा,०७६ फागुन ७ गते
प्रदेश २ मा सन् २०१९ प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ७ सय ३० जना पीडित हुनुभएको इन्सेक प्रदेश २ ले तथ्याङ्क सार्वजानिक गरेको छ ।
जसमा राज्यपक्षबाट ७ महिला र ५८ पुरुष गरि ६५ जना र अन्य पक्षबाट ५ सय २७ महिला र १ सय ३८ पुरुष गरि ६ सय ६५ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बताउनुभएको छ ।
इन्सेक प्रदेश २ को कार्यालय जनकपुरधाममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० र प्रदेश २ को मानव अधिकार अवस्था विषयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संयोजक पासवानले सन् २०१९ मा गिरफ्तारका घटनामा १३ जना पुरुषको मृत्यु, अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारमा १ महिला र १६ जना पुरुष गरि १७ जना पिडित भएको, जातीय विभेदका घटनामा राज्य पक्षबाट १ महिला र अन्य पक्षबाट ५ जना गरि ६ जना पिडित, महिला अधिकार उल्लङ्घनका घटनामा २ सय ३६ जना यातनाका घटनामा १ जना र बालअधिकार उल्लङ्घनका घटनामा २ महिलासहित २२५ जना पीडित हुनुभएको हो नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मा उल्लेख छ ।

सन् २०१८ यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ सय १ जना पीडित हुनुभएको थियो ।
प्रदेश २ को तथ्याङ्क हेर्दा सन् २०१८ भन्दा सन् २०१९ मा १ सय २९ घटना बढेको देखिन्छ । गत वर्षभन्दा यस वर्ष मानव अधिकार उल्लङ्घनका घटना बृद्धि भएको बताउनु हुदै इन्सेक प्रदेश २ संयोेजक पासवानले प्रदेश २ मा राज्यपक्षबाटै ३ जनाको हत्या भएकाले गर्दा मानवअधिकारको अवस्था गम्भिर रहेको बताउनुभएको छ ।
आयोजित पत्रकार भेटघाटको अवसरमा प्रदेश २ बाट उत्कृष्ट बारा जिल्ला प्रतिनिधी भोलानाथ पौडेललाई सम्मान गरिएको छ । इन्सेक प्रदेश २ संयोजक राजु पासवान, प्रलेख अधिकृत शर्भेशराज शर्मा, अधिवक्ता राजकुमार महासेठले संयुक्त रुपमा नगद रु.७ हजार, सम्मानपत्रको साथै इन्सेक केन्द्रिय कार्यालय दिएको मायाको चिनो प्रदान गरि सम्मान गरिएको छ ।

कार्यक्रममा प्रदेश २ संयोजक पासवानले प्रदेश २ मा महिला तथा बालबालिकाहरु बढी पिडित भएकाले यसप्रति हामी सवै नागरिक समाज, संचारकर्मी र अधिकारकर्मीहरु सचेत हुनुपर्ने बताउनुभयो ।