
धनुषा, ०७६ चैत १८ गते ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले नगरभित्रका दैनिक ज्याला मजदुरी गर्ने गरिव, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत वितरण गरेका छन् । नगरप्रमुख योगेन्द्र पंजियारले वडा नं. ५ का २ हजार घरपरिवारलाई राहत वितरण प्रदान गर्नुभएको हो । जनताको घरदैलोमै पुगेर राहत स्वरुप पाँच केजी चामल, आधा किलो दाल, आधा लिटर खाने तेल, १ केजी नुन, आधा केजी सोयाबिन, आधि केजी मुरही(भुजा), आधा केजी दालमोढ र एउटा डिटोल साबुन बितरण गर्नुभएको हो ।
कोरोना भाइरसका कारण चैत ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेपछि समस्यामा परेका परिवारलाई नगरले सहयोग गरेका छन् । क्षिरेश्वरनाथ नगरपालिकाले ८ हजार ६ सय घरधुरीलाई एउटा एउटा डिटोल साबुन वडा अध्यक्ष मार्फत पुर्याउने लक्ष्य राखेको जानकारी समेत गराउनुभयो । उहाँले यस अघि प्रत्येक वडामा मास्क समेत वितरण गरिसकेको जानकारी दिनुभयो ।
क्षिरेश्वरनाथ नगरपालिकामा भारतलगायत अन्य खाडी मुलुकबाट घर आएका ८२ जनालाई आफनै घरमा सर्तकताका साथ होम क्वारेन्टाइनमा रहन निर्देशन दिएको नगरप्रमुख पंजियारले बताउनुभयो । नगरपालिकाले नगरभित्रका वासिन्दालाई कोरोनाको शंका लागेको खण्डमा क्वारेन्टाइनमा राख्नुपर्नेमा वडा नं. ५ स्थित निमार्णाधिन अवस्थामा रहेको नगरको भवन र वडा नं. ८ स्थित हारसरको जिवन केन्द्रलाई क्वारेन्टाइनको लागि तयारी अवस्थामा राखेको प्रमुख पंजियारले बताउनुभएको छ ।

हरियो तरकारी र पाकेको गहुँ घर भित्रयाउन बन्दोवस्त मिलाउन पहल
क्षिरेश्वरनाथ नगरपालिका बढ्दो शहरी क्षेत्रका साथै ग्रामिण क्षेत्रसम्म फैलिएकाले गर्दा शहरी क्षेत्रमा हरियो साग, तरकारी र फलफूल लगायतका दैनिक उपभोग्य खाद्य सामाग्री विक्री वितरणका लागि सामाजिक दुरी बढाएर विहान र बेलुका पसल खोल्न नगरका व्यवसायीहरुलाई अनुरोध गर्नुभएको छ । खाद्य पदार्थ खरिद गर्न आउने ग्राहकहरुलाई सामाजिक दुरीको घेरा बनाई खरिद गर्ने बन्दोबस्त गर्न व्यवसायीहरुलाई आग्रह गरिएको छ । हरियो साग र तरकारीको विक्रीका लागि विहान र बेलुका मुख्य मुख्य चोकमा ठेला लगाएर सामाजिक दुरी बनाई सुरक्षाकर्मीहरुको निगरानीमा विक्री वितरण गर्न लगाएको मेयर पंजियारले बताउनुभयो ।

क्षिरेश्वरनाथ नपाका ग्रामिण क्षेत्रका किसानहरुको खेतमा अहिले गहुँ, रहरी, मसुरोलगायतका बालीहरु घर भित्रयाउने समय भएकाले किसानलाई पाकेको बाली काटेर घरसम्म भित्रर्याउने बन्दोबस्त मिलाउनको स्थानिय प्रशासनसंग आग्रह गर्नुभयो । मेयर पजियारले भन्नुभयो, ‘तयार भई सकेको बाली समयमा काट्न र थन्काउन नपाउँदा अहिले हावा हुरी र पानीको बेला भएकोले किसानलाई ठूलो नोक्सानी व्यहोर्नु पर्ने हुन्छ । त्यसैले प्रशासनलाई आग्रह गर्दछु कि किसानलाई बाली भित्र्याउन बन्दोबस्त मिलाउनमा सहयोग गर्नुपर्दछ ।
दिपेन्द्रप्रसाद सिंह