गाउँलेको दवावमा धनुषाका एक वाडाध्यक्ष क्वारेन्टाइन भर्ना भएपछि


धनुषा, ०७६ चैत २४ गते ।
भारतको मधुवनीमा एक महिना लामो बसाइपछि धनुषाको जनकनन्दनी गाउँपालिका –२ बस्ने वडाध्यक्ष भोगेन्द्र पाठकलाई गाउँलेहरुको दवावमा क्वारेन्टाइनको लागि भर्ना गरिएको छ । वडाध्यक्ष पाठक जनकनन्दनी गाउँपालिका–४ स्थित उच्चमाध्यमिक विद्यालय खजुरीमा स्थापना गरेको क्वारेन्टाइनमा सोमवार विहान भर्ना भएका छन् ।


काम विशेषले एक महिना भारत बसेर वडाध्यक्ष पाठक आइतवार राति घर फर्केका थिए । भारतमा लामो समय बसेर घर फर्किदा कोरोना भाइरसको आंशका गरेर गाउँलेहरुले वडाध्यक्षलाई १४ दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेका थिए । तर वडाध्यक्ष पाठक आफुलाई केही नभएको भन्दै गाउँमै घुमफिर गर्न थालेपछि स्थानियहरुले इलाका प्रहरी कार्यालय खजुरीमा वडाध्यक्षलाई क्वारेन्टाइनमा राख्न निवेदन दिएका थिए ।


वडाध्यक्षलाई क्वारेन्टाइनमा राख्ने विषयमा इलाका प्रहरी कार्यालय खजुरीमा निवेदन आएपछि प्रहरी इन्स्पेक्टर देवेन्द्र रोकायाले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसंग छलफल गर्दै गाउँलेहरुको दवाव रहेकाले गर्दा सोमबार विहान वडाध्यक्ष पाठकलाई क्वारेन्टाइनमा बस्न लगाएका हुन् । जनकनन्दनी गाउँपालिकामा अहिले ९ जना क्वारेन्टाइनमा रहेको छ ।


जनकनन्दनी गाउँपालिकाले २० वेडको क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाइनमा भर्ना भएका सबैका लागि गाउँपालिकाले खाजा, खाना र अन्य व्यवस्थापन मिलाएको जनकनन्दनी गाउँपालिकाका फोकल पर्सन अयोधी दासले जानकारी दिए ।

धेरै पढिएको

ताजा समाचार