
धनुषा, ०७६ चैत २७ गते ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रासका कारण जनकपुरधामका निजी अस्पतालहरुले तत्कालका लागि ओपिडी बन्द गरेका छन् । अस्पतालहरुले ओपिडी सेवा बन्द गरि आकस्मिक सेवा सुचारु राखेको दावि गरि रहेको भएपनि विरामीलाई भने सहजै भर्ना गरि रहेको छैन् ।
अस्पतालहरुले ज्वरो, रुघाखोकी, टाउको दुख्नेलगायतको विरामीहरुलाई भर्ना समेत नगरि प्रादेशिक अस्पताल जनकपुरमा पठाउने गरेको छ । जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल प्रालिले चैत २३ गते आफनो डेढ वर्षीय छोरालाई ज्वरो लागेर चेकजाँच गराउन जाँदा अस्पतालले सेवा नदिएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ बस्ने राजा सहनीले गुनासो गर्नुभएको छ ।
यसअघि चैत १४ गते धनुषाधाम नपा –३ मुलाबारीकी ४५ वर्षीय मरनी देवी सदालाई श्वास प्रश्वासमा समस्या भएपछि जनकपुरधाम उमनपा –८ स्थित गोदावरी मोर्डन अस्पतालमा भर्ना गराउँदा डाक्टरले कोरोना भाइरसको संकेत गर्दै भर्ना नगरि प्रादेशिक अस्पतालमा रेफर गरेको कारी सदाले बताउनुभयो ।
पहिलादेखि नै मुटुरोगी रहेको मरनी सदालाई सामान्य ज्वरो आएर स्वास फेर्न समस्या भएपछि मोडर्न अस्पतालमाबाट कोरोना संक्रमणको आशंका गर्दै रेफर गरि दिएका थिए ।
निजी अस्पतालले डाक्टरलाई पिपिई प्रदान नगरेपछि अहिले डाक्टरहरु धमाधम जागिर नै छोडेर सम्पर्कविहिन भएको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल प्रालिमा कार्यरत नाम गोप्य राख्ने गरि एक नर्सले बताउनुभयो । उहाँका अनुसारले अस्पतालमा आफुहरु निकै असुरक्षित तरिकाले काम गर्दै आएका छौं, अस्पतालका धेरै डाक्टरहरुले जागिर छोडि सकेको छ, तर हामी जोखिमपूर्ण तरिकाले काम गर्न बाध्य भएका छौं ।
प्रादेशिक अस्पताल जनकपुरका वरिष्ठ बालरोग विशेषज्ञ डा.जामुन सिंहका अनुसार प्रादेशिक अस्पतालबाट पनि चार जना स्वास्थ्यकर्मीले घरको दवावका कारण जागिर नै छोडेको बताउनुभयो । डाक्टर सिंहका अनुसार ,‘अहिलेको बिषम परिस्थितीमा सामान्य ज्वरोका विरामी आउँदा पनि चिकित्सकहरु डराउँछन् । त्यसैले हुनसक्छ उनीहरु ड्युटी आउन छाडेका हुन् ।’
जनकपुरधाममा प्रादेशिक अस्पतालबाहेक कुल ३५ वटा निजि अस्पतालहरु सञ्चालनमा रहेका छन् तर अधिकांश अस्पतालले अहिले कोरोना संक्रमणको क्रासले ओपिडि सेवा समेत बन्द गरेका छन् । जनकपुरका अधिकांश निजी अस्पतालमा कार्यरत डाक्टरहरु कोरोना भाईरसको डरका कारण सम्बन्धित अस्पताल प्रशासनलाई कुनै जानकारी नै नदिई ड्युटीमा आउन छाडेकाले गर्दा सामान्य विरामीहरुलाई समेत समस्या भई रहेको छ ।