धनुषामा राहत वितरणलाई निरन्तरता

धनुषा, ०७७ बैशाख १ गते ।
विश्वव्यापी रुपमा फैलिदै गरेको कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनमा परेर समस्यामा परेका गरिव, विपन्न, दलित, मजदुरहरुलाई राहत वितरण कार्य बैशाख १ गते समेत जारी रहेको छ ।


जनकपुरधाम उमनपा –९ स्थित महिला अधिकारकर्मी शिला झाको समन्वयमा ५९ घरपरिवारलाई राहत प्रदान गरिएको छ । चामल, दाल, नुन, आलु, स्वाविन, तेललगायतको खाद्य सामाग्री राहत स्वरुप प्रदान गरिएको महिला मानवअधिकार रक्षक संजाल धनुषाकी अध्यक्ष समेत रहेकी शिला झाले बताइन् ।


असहाय संरक्षण मंच जनकपुरधामको तर्फबाट जनकपुरधाम उमनपा –१ स्थित पुलचौकमा २५ जना र वडा नं. ७ स्थित जानकीनगरमा २५ घरपरिवार गरि ५० जनालाई राहत सामाग्री वितरण गरिएको छ । मंचका अध्यक्ष समाजसेवीद्धय बैद्यनाथ साह, धर्मेन्द्र साह र बालअधिकारकर्मी आशुतोष झालगायतको सहभागितामा चामल, दाल, आलु, नुन, तेल र स्वाविनलगायतको खाद्य सामाग्री प्रदान गरिएको छ ।


जनकपुरधाम उमनपा –१६ स्थित कपिलेश्वरमा राष्ट्रिय युवा क्लव संजाल र न्यु भिजन संस्थाले आयोजना गर्दै आएको निःशुल्क भोजन शिविरलाई बैशाख १ गते पनि निरन्तरता दिएको न्यु भिजनका अध्यक्ष रंजित यादवले बताउनुभयो । दैनिक साँझ र विहान भात, दाल, तरकारीलगायतको खाना पकाएर गरिव, विपन्न, मजदुरहरुलाई वितरण गर्दै आएको राष्ट्रिय युवा क्लव संजालका अभियन्ता रक्की साहले जानकारी दिनुभयो ।


क्षिरेश्वरनाथ नपा–५ स्थित महेन्द्रनगरमा नेकपाका नेता महेन्द्र यादवले आफनो लगानीमा निःशुल्क भोजन कार्यलाई बैशाख १ गते समेत निरन्तरता दिएको छ । नेकपाका नेता यादवले १० दिनदेखि विहान र बेलुका खाना खुवाउँदै आएको छ । दैनिक २ सयभन्दा ५ जनाले निःशुल्क भोजनमा खाना खाँदै आएको नेता यादवले बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार