
धनुषा, ०७७ जेठ १८ गते ।
तिनै तहको सरकारले कोरोना व्यवस्थापन गर्न नसकेको भन्दै तरुण दल धनुषाले जनकपुरधाममा निकालेको मशाल जुलुस तथा विरोध प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठी चार्जवाट दलका आधा दर्जन युवाहरु घाइते भएका छन् ।

तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहको नेतृत्वमा रामचौकवाट निकालिएको मशाल जुलुस भानुचौक पुग्ने वितिकै प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको लाठीचार्जवाट तरुण दलका युवाहरु राकेश विक्रम साह, रमेश कुमार यादव, आशुतोष नविन झा, विजय यादव, भरत साह सहितका घाइते भएका छन् ।

दलका उपाध्यक्ष साहले तिनै तहको सरकार कोरोना महामारी नियन्त्रणमा क्वारेन्टाइन, आइशोलेसनको व्यवस्थापन गर्न नसकेको र तिनै सरकारको लापरवाहीले भारतवाट आउने युवाहरु सिमामै ज्यान गुमाउन परेको भन्दै दलका युवाहरु जनकपुरधाममा मशाल जुलुस र विरोध प्रदर्शन गरेका थिए ।
तिनवटा सरकार छ तर पिसिआर परिक्षणको रिपोर्ट काठमाण्डौंको भरमा हुन्छ, राकेशले भने, ‘कहिले सम्म परिक्षण गर्ने र लकडाउन गर्ने ?’ सरकारहरु नसचिए आन्दोलन जारी रहने उनको चेतावनी छ ।