
धनुषा, ०७७ जेठ १९ गते ।
जनकपुरबाट एक युवालाई मोटरसाइकलमा हतियार लुकाएर राखेको अवस्थामा पक्राउ गरेको छ । जनकपुरधाम उमनपा–१७ स्थित रामलोचन पासवानको आँपको बगैचाको उत्तर साईडमा ज. ४ प ३९३३ नम्वरको मोटरसाइकलमा शंकास्पद रुपमा बसि रहेका महोत्तरीको लोहारपट्टी नपा–८ भम्ररपुरा बस्ने २० वर्षीय डि.के. भन्ने अजिजुल राईनलाई प्रहरीले पक्राउ गरेको हो ।
राइनले लगाएको हेलमेट भित्र लुकाई छिपाई राखेको अटोमेटिक पेस्तोलमा फिट हुने म्यागिजन थान २ थान र सो म्याग्जिन मध्ये थान १ म्याग्जिनमा गोली राउन्ड २ लोड रहेको, निज सवार रहेको मो.सा.को सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा म्याग्जिनमा ३ राउन्ड गोली लोड रहेको अटोमेटिक पेस्तोल थान १ थान र कम्मरमा लुकाईछिपाई राखेको सेतो चक्कु थान १ समेत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका राइनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।