
धनुषा, ०७७ असार १ गते ।
धनुषाको मिथिला नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई कृषि उपकरण उपलब्ध गराउने भएको छ ।
कृषि उत्पादनमा बढोत्तरी ल्याउन नगरपालिकाले किसानलाई ‘स्प्रे मेसिन, उडर (खेत गोडमेल गर्ने) मेसिन, पावर टिलर, मिनि टिलर र रिपर जस्ता आधुनिक कृषि उपकरण वितरण गर्न लागेका हुन् ।
मिथिला नगरपालिकाका कृषि विकास शाखा अधिकृत सँजयकुमार महतोले उत्पादन बढाउने उद्देश्यले नगरपालिका क्षेत्रभित्रका कृषि उत्पादन गर्ने किसानलाई आधुनिक कृषिऔजार वितरण गर्न लागेको बताए ।
यसका लागि किसानबाट माग फारम भर्ने काम सकिएको र किसानले बुझाउनु पर्ने ५० प्रतिशत रकम संकलन गर्ने कार्य भइरहेको छ । रकम संकलनको कार्य सकिन साथ आधुनिक कृषि उपकरण वितरण थालिने अधिकृत महतोले जानकारी दिए ।
किसानले स्प्रे मेसिन ४५८, उडर (खेत गोडमेल गर्ने) मेसिन ३६ र पावर टिलर, मिनि टिलर तथा रिपरका लागि ११ जनाले माग फारम भरेको छ ।