
२०७६ मंसिर २३ गते ।
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रसेवक कर्मचारीहरुले चाहेको खण्डमा सम्भव हुने धारणा व्यक्त गरेका छन् । राष्ट्रसेवक कर्मचारीहरु इमान्दार नभएसम्म देशमा भ्रष्टाचार भई रहने बताउँदै नेताहरुलाई समेत कर्मचारीबाटै भ्रष्टाचार गराउने चलखेल हुदै आएको बताएका छन् ।
भ्रष्टाचार विरुद्धको अन्र्तराष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले सोमबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको कार्यक्रममा बोल्दै राउतले कर्मचारीले बाटो देखाउदा भ्रष्टाचार हुने गरेको भन्दै कर्मचारीले चोर बाटो नदेखाए नेताले कुनै पनि हालतमा भ्रष्टाचार गर्न नसक्ने दाबी गरेका हुन् ।
मुख्यमन्त्री राउतले कार्यालयको भित्तामा भ्रष्टाचारविरोधी ‘स्लोगन’ टाँसेरमात्र भ्रष्टाचार उन्मुलन हुन नसक्ने जिकिर गरे। भ्रष्टाचार नियन्त्रण गर्न अन्तरआत्मादेखि सबै तयार हुनुपर्ने उनको कथन थियो।
अख्तियारका बर्दिवास प्रमुख नारायणप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु जितेन्द्र सोनल, विजयकुमार यादव, ज्ञानेन्द्र यादव, नवलकिशोर साह, रामनरेश रायसहित राज्यमन्त्री, सुरक्षा निकायका प्रमुख लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।