राजाबासमा हुँदै गरेको बालविवाह प्रहरी सक्रियतामा रोकियो

मंसिर २६, २०७६

प्रहरीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-७ स्थित राजाबासमा हुँदै गरेको बालविवाह रोकेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका-५ का पदमबहादुर कार्कीका छोरा २४ वर्षीय भूपध्वज कार्कीसँग त्रियुगा नगपालिका-७ का रुद्रबहादुर थापाको छोरी १९ वर्षीया लेखाकुमारी थापाको विवाह रोकिएको हो ।

गोप्य सूचनाका आधारमा प्रहरीले विवाहमण्डपमै पुगेर विवाह रोकेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए । बालविवाह गर्न खोज्ने बेहुला तथा बेहुलीतर्फका अभिभावकलाई केही समय नियन्त्रणमा लिई केटीको उमेर २० वर्ष नाघेपछि मात्र विवाह गर्ने सर्तमा छोडिएको उनले बताए ।

कानुन अनुसार बालविवाह गर्ने र गराउनेलाई ३ वर्ष कैद र ३० हजार जरिवाना तोकिएको छ । बालविवाह उद्योग गर्नेलाई १ वर्ष कैद र १५ हजार जरिवाना हुने उल्लेख छ । बालविवाह गर्दै आएकालाई अभिभावकको जिम्मामा छाडिने गरेको भए पनि अबदेखि कारबाही गरिने प्रहरी प्रमुख बुढामगरले बताए । जनचेतनाको अभाव र मोबाइलमा बढेको विकृतिका कारण बालविवाह बढ्दै गएको उनको भनाइ छ । (रासस)

धेरै पढिएको

ताजा समाचार