
धनुषा । ०७६ पुस ३ गते ।
लक्ष्मीनियाँ गाउँपालिकाका जननिर्वाचित प्रतिनिधीहरुले महिलामुखी विकास र लैङ्गिकमैत्री योजना तर्जुमा तथा निति निर्धारणका लागि कार्यपालिकाको बैठकबाट निर्णय गराउन पहल गर्ने प्रतिवद्र्धता जनाएका छन् । गाउँ समाज र टोलका सर्वसाधारण जनतादेखि जननिर्वाचित प्रतिनिधीहरुले समेत जागरुक्ताका साथ सामाजिक तथा भौतिक विकासको कार्यमा सहभागिता जनाउने बताएका हुन् ।
वडा कार्यालयले घटनाको रेकर्ड राख्दै हिंसा गर्ने व्यक्तिहरुलाई वडा र गाउँपालिकाबाट प्रदान गरिने सामाजिक सुविधाबाट बञ्चित गरिनुपर्ने बताएका छन् । बाल क्लव, महिला क्लव, टोल सुधार समिति, लैङ्गिक हिंसा समिति गठन गर्दै लैङ्गिकमैत्री निति बनाएर गाउँपालिकालाई लैङ्गिकमैत्री पालिका बनाउन कार्यशाला गोष्ठिमा वृहत्त रुपमा छलफल भएको छ ।

लक्ष्मीनियाँ गाउँपालिकाको आयोजना तथा ओरेक नेपालको सहयोगमा महिलामुखी विकास र लैङ्गिकमैत्री योजना तर्जुमा तथा निति निर्धारणका लागि आयोजित २ दिने कार्यशाला गोष्ठि कार्यक्रममा सामाजिक क्षेत्रमा पालिकाभित्र भई रहेको लगानीको प्रतिफल मापन गर्ने गरि अनुगमन टोली निमार्ण गर्नेबारेमा छलफल भएको छ ।
सामाजिक क्षेत्रमा करोडौ रकम लगानी हुदै आएको तर ती लगानीले के कुन समुदायमा के फाइदा भएको छ भन्ने सवालमा अनुगमन गर्न जरुरी रहेको भन्दै गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा सम्बन्धित क्षेत्रका विज्ञ, सामाजिक क्षेत्रका काम गर्ने संघसंस्थाको प्रतिनिधी, जनप्रतिनिधी सम्मिलित अनुगमन टोली बनाउन कार्यपालिकामा प्रस्ताव लाने लक्ष्मीनियाँ गाउँपालिका प्रवक्ता समेत रहेका वडा अध्यक्ष फुलगेन यादवले बताएका छन् ।

लक्ष्मीनियाँ गाउँपालिकाका इन्द्रकला कुमारी यादवले सामाजिक विकासका लागि पालिकाको आफनो बजेटदेखि विभिन्न संघसंस्थाहरुको सहयोगमा भई रहेको सामाजिक गतिविधीले समाजमा पारेको प्रभावको समेत निगरानीदेखि अनुगमन गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले यसको लागि कार्यपालिकाको बैठकबाट एक समिति गठन गरेर अगाडी बढ्ने बताइन् ।
२ दिने कार्यशाला गोष्ठिको क्रममा ओरेक नेपालका वरिष्ठ कार्यक्रम संयोजक सविता पोखरेल, ले सहभागिहरुलाई कार्यशाला गोष्ठिको सहजीकरण गर्नुभएको थियो । कार्यशाला गोष्ठि कार्यक्रममा ओरेक नेपालका धनुषा संयोजक रोजलिन सिंह बछार, कार्यक्रम अधिकृत विणा सिंह, महिला अधिकारकर्मी सुभद्रा आले मगर, निल हिरा समाजका जुनु चौधरीलगायत लक्ष्मीनियाँ गाउँपालिकाका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।