
जनकपुर,०७८ पुुस २९ गते । नेपाल रेल्वे कम्पनी लिमिटेडका पूर्व कर्मचारीहरुले गोप्य तरिकाले कर्मचारी भर्ना गरि तालिम दिदै आएकाले सो कार्य रोक्न जानकारीसहित ज्ञापनपत्र बुझाएका छन् । बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउँदै नयाँ कर्मचारीलाई नेपाल रेल्वेले दिइरहेको तालिम कानुन विपरीत रहेको भन्दै तत्काल रोक्न उनीहरुले माग गरेका हुन् ।
पुराना रेल्वे कर्मचारी संघर्ष समितिले जनकपुरधामको मत्स्य तालिम केन्द्रमा चलिरहेको तालिम स्थगित नभएमा र सात दिनभित्र नवनियुक्त कर्मचारीलाई नहटाइएमा चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी पौडेलले आन्दोलनकारीहरुको ज्ञापन पत्र बुझ्दै संविधानमा व्यवस्था रहेअनुसार विरोधका कार्यक्रम गर्न सुझाव दिँदै अदालत र श्रम कार्यालयमा न्यायका लागि पहल गर्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘जागिरबाट निकालिएका व्यक्तिहरुले विरोध गर्नुभन्दा अदालतमा गएर मुद्दा जाहेरी दिएमा तत्काल फैसला हुने र न्याय पनि पाइने हुनाले कानुनले दिएको अधिकारको सदुपयोग गर्नुस् ।’
आन्दोलनरत पूर्व कर्मचारी इन्द्रजित यादवले स्थायी पदपूर्ति नहुन्जेलसम्म मन्त्रिपरिषदको निर्णय बमोजिम रेल्वेका पुराना कर्मचारीबाटै काम काज गराउने भनिएकोमा बिना कुनै जानकारी आफूहरुलाई निष्काशन गरिएको बताए ।
पुराना रेल्वे कर्मचारी संघर्ष समिति जनकपुरधामले बुझाएको ज्ञापन पत्र प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रदेश २ को यातायात मन्त्रालय, रेल्वे विभागलाई बोधार्थ पठाइएको छ ।