गुठी संस्थानका कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानका तत्कालीन कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।

गुठी संस्थानको स्वामित्व रहेको जग्गामा नक्कली मोही कायम गरी मुआब्जा वितरण गर्ने गुठी संस्थान शाखा कार्यालय, जनकपुरका तत्कालीन कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

संस्थानका कर्मचारीसहित ६ जना तथा एक जना प्रहरी निरीक्षक र एक जना पूर्व गाविस सचिवविरुद्ध १ कारोड ९१ लाख ९४ हजार बिगो माग दाबीसहित आइतबार मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन प्रमुख राजबाबु पाण्डेसमेत ६ जनाले धनुषा भरतपुर गाविसमा नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरेको अख्तियारले जनाएको छ।

मोहीहरुलाई मुआव्जा रकम भुक्तानी गरेबापत बिचौलियामार्फत १९ लाख ३० हजार घुस लिएको तथ्य प्रमाणसहित पुष्टि भएको अख्तियारले जनाएको छ।

सोही कार्यमा तत्कालीन सहायक प्रशासक मनोजकुमार शर्माले बिचौलीया मार्फत ६ लाख ५० हजार लिएको अख्तियारले जनाएको छ।

यस्तै संस्थानका तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले मोहीलाई मुआब्जा रकम भुक्तानी गरेवापत कार्यालय प्रमुखसमेतले लिनेखाने गरी चार लाख ३० हजार घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

मोहीलाई रकम भुक्तानी गर्न बिचौलियाको भूमिका निर्वाह गर्ने सुमनकान्त ठाकुरले मोहीलाई दबाबमा पारी राष्ट्रसेवक कर्मचारीहरुलाई प्रलोभनमा राखी मोहीबाट पटक–पटक गरी ६३ लाख ३६ हजार ६ सय ६७ रुपैयाँ घुस लिएको तथ्य फेला परेको अख्तियारले जनाएको छ।

यस्तै मोही भनिएकी गायत्री देवी जयसवालका छोरा शत्रुधन जयसवालले गुठी संस्थानबाट मुआब्जा बापत लिएको १२ लाख ८१ हजार ६ सय ६७ रुपैयाँमध्ये १२ लाख ५० हजार आफूले लिई सुमनकान्त ठाकुरलाई ७ लाख ३५ हजार घुस दिएको पुष्टि भएको भन्दै अख्तियारले शत्रुधन मुद्दा दायर गरेको छ।

यस्तै गायत्रीले मुआब्जाबापत लिएको ७७ लाख १ हजार ६ सय ६७ रुपैयाँ मध्येबाट सुमनकान्त ठाकुरलाई ५६ लाख एक हजार ६ सय ६७ रुपैयाँ बिचौलियाको भूमिका निर्वाह गरेको अख्तियारले जनाएको छ। उक्त रकम असुल गरी जफतको माग दाबी गर्दै मुद्दा दायर गरिएको छ।

प्रहरी निरीक्षक थापाविरुद्ध मुद्दा

यस्तै अख्तियारले महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापाविरुद्ध ४० हजार बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ।

थापाले सेवाग्राहीको महाशाखामा दर्ता भई जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएका प्रतिवादीलाई पक्राउ गर्नु पर्नेमा ठगी भएको रकम असुलउपर गराउने वातावरण मिलाई दिएबापत सेवाग्राहीसँग घुस लिँदैगर्दा अख्तियारले रंगेहात पक्राउ गरेको थिया।

यस्तै अख्तियारले पर्साको साविक जयमंगलापुर गाविसका तत्कालीन सचिव राजेन्द्र महतो नुनियाविरुद्ध ५५ हजार ९ सय रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ।

सचिव नुनियाले नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता शीर्षक (आंशिक अपाङ्ग, पूर्ण अपाङ्ग, औषधि खर्च, असहाय विधवा, बालबालिका तथा दलित) मा विनियोजित रकममा मृत्यु भइसकेको व्यक्तिलाई पनि रकम वितरण गरेको किर्ते भरपाई तयार रकम अनियमितता गरेको अख्तियारले जनाएको छ। श्रोतः नेपाल समय

धेरै पढिएको

ताजा समाचार