जनकपुरधाम धार्मिक पर्यटनको नयाँ आयाम बन्दै

अजयकुमार साह

धनुषा । ०७६ पुस २४ गते

अहिले पर्यटन वर्ष २०२० देशले मनाई रहेको बेला प्राचिन नगरी जनकपुरधाम धेरैको रोजाईमा पर्नु स्वभाविक भए जस्तो छ । पछिल्लो पटकको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र युपीको मुख्यमन्त्री योगि आदित्यनाथको जनकपुर भ्रमण पश्चात झन जनकपुर हेर्न विश्व लालायित देखिएको छ।

प्राचिन मिथिलाको राजधानी तथा अहिले प्रदेश २ को राजधानी जनकपुरधाम पुरातात्विक सम्पदा, संस्कृति र मिथिला कलाले जति धनी छ, धार्मिक गन्तव्य पनि प्रशस्तै छन्।

भौतिक पूर्वाधारका हिसाबले जनकपुर सुगम धार्मिक स्थल हो। राजर्षि जनकको प्राचीन मिथिलाराज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मभूमि पनि यहीँ हो। संस्कृतिको धनी र धार्मिक पर्यटकीय क्षेत्रको प्रशस्त सम्भावना बोकेको एक सुन्दर देवस्थल पनि हो जनकपुर।

‘अन्यत्र गरेको पापबाट जनकपुरधाममा मुक्ति पाईन्छ । तर जनकपुरधाममा गरेको पापबाट अन्यत्र कतैपनि मुक्ति पाईदैन ।’ भन्ने महत्वपूर्ण भनाईको कारण मानिसहरु विश्वको विभिन्न धार्मिक स्थलमा पूजापाठ गरेपनि अन्तमा जनकपुर आइपुग्छन् ।

धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको जनकपुरधामलाई ५२ कुट्टी ७२ कुण्डको शहरको नामले पनि चिनिन्छ । जनकपुरमा पाईलै पिच्छे विभिन्न देवी देवताका आकर्षक मठमन्दिर र तालतलैया हेर्न पाईन्छ ।

हिन्दु धर्माबलम्बीहरुको विशेष आस्थाको केन्द्र जनकपुरधाम पर्यटकीय नगरी मध्ये एक हो ।

याह छी हमर जनकपुर,

यी सीताके जनकपुर ।

यी जनकक गाम जनकपुर,

यी हमरा अहाँक जनकपुर

मैथिलीका वरिष्ठ साहित्यकार रमेश रञ्जनको रचना र मिथिलाका चर्चित गायक सुनिल मल्लिकको स्वर रहेको ‘याह छी हमर जनकपुर…..’ बोलको मैथिली लोक गीत जनकपुरधामको धार्मिक तथा ऐतिहासिक परिचयलाई स्थापित गराएको छ ।

विहानै देखि यहाँका मठमन्दिरमा गुञ्जिने यस्तै खालको असंख्य मैथिली गीत संगीतले पर्यटक तथा श्रद्धालुभक्तजनलाई त्यसै मन मन्त्र मुग्ध बनाईदिन्छ । अनि भक्तजन र पर्यटकहरु उत्साहित हुँदै भन्छन्, ‘जय सीताराम, जय जय हो किशोरीजी, जय जनकपुरधाम…’

धार्मिक र सास्कृतिक हिसाबले मिथिला संस्कृति विश्व मै धनी छ । जसको धरोहरको रुपमा जानकी मन्दिरलाई खडा गरिन्छ ।

मिथिलाको विभिन्न चाडपर्वमा रामजानकी विवाहपञ्चमी महोत्सव, विजयदाशमी, दीपावली, छठ पर्व, रामनवमी, जानकी नवमी लगायतको चाडपर्वमा जनकपुरधमलाई वेहुली झै सृंगारिन्छ । यति मात्र होइन जनकपुरमा जानकी मन्दिर लगायत राममन्दिर, राजदेवी मन्दिर, लक्ष्मण मन्दिर , जनक मन्दिर, गंगा सागर एवं गंगा महाआरती, धनुषा सागर, अरगजा सागर लगायत दर्जनौ ताल तलैया र मठ मन्दिर छ ।

त्यसैले पर्यटकको मुख्य रोजाईमा जनकपुरधाम पर्छ । त्यसैले भिजिट नेपाल २०२० मनाउन तपाई यदि जनकपुर प्रवेश गर्दैहुनुहुन्छ भने जनकपुर स्थित यी ७ महत्वपूर्ण स्थलहरु अवश्य नै घुम्न होला ।

विश्व सम्पदा सूचिमा राख्ने तयारीमा रहेको जानकी मन्दिर

जानकी मन्दिर हिन्दु धर्मावलम्बीहरुको पवित्र धर्मस्थल एवं आस्थाको केन्द्र हो । गत भदौ ३० गते पुरात्तत्व विभागले जनकपुरमा पत्रकार सम्मेलन नै गरि जानकी मन्दिरलाई विश्व सम्पदाको सम्भाव्य सूचीमा सूचीकृत गराउने सन्दर्भमा आगामी छ महीनाभित्र क्षेत्र सीमाङ्कन गर्न प्रक्रियाको थालनी गरिने बताएका थिए ।
सो अन्तर्गत विभागको पहलमा गङ्गासागर, धनुषसागर, राममन्दिर र जानकी मन्दिरसम्मको क्षेत्रलाई आधारमानी सीमाङ्कन गरिने जनाइएको छ । सीमाङ्कन गर्दा सो क्षेत्रमा भवनको मापदण्डबारे सरोकारवालासँग छलफल गरी सीमाङ्कनको प्रक्रिया अगाडि बढाइने योजना छ ।
सीमाङ्कनको प्रक्रिया पूरा भएपछि सीमाङ्कन भइसकेको क्षेत्रलाई संरक्षित प्राचीन स्मारक क्षेत्र घोषणा गरी सूचीकृत हुने अन्य मापदण्डको कार्यलाई गति प्रदान गरिने छ ।
युनेस्कोद्वारा सन् २००८ मा जानकी मन्दिरलाई विश्व सम्पदाको सम्भाव्य सूचीमा राखिए पनि स्थानीयस्तरमा सूचीकृतका मापदण्डप्रति अग्रसरताको अभावले गति लिननसकेको बताइएको छ ।
प्रदेश नं–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गराउने प्रक्रिया र पहलमा सरकार क्रियाशील रहने बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता झाले जानकी मन्दिरलाई विश्व सम्पदासूचीमा सूचीकृत गराउने सन्दर्भमा मापदण्ड पूरा गराउन उपमहानगरपालिका तयार रहेको बताउनुभयो ।
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विश्वसम्पदा सूचीमा सूचीकृत गराउने सन्दर्भमा स्थानीय सरकारले कानूनी आधारको आवश्यक प्रक्रिया पूरा गराउन पहल गर्नु जरूरी रहेको बताउनुभयो ।
पुरातत्वविद् भीमप्रसाद नेपालले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अन्तर्गत सीमाङ्कनपछि व्यवस्थापकीय योजना निर्माण गर्नुपर्ने जानकारी गराउनुभयो । विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर र अभियन्ता गोपाल झाले पुरातात्विक सम्पदाको संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने खाँचौं औल्याउनुभयो ।

तर १ अक्टोबर २०१४ बाट जानकी मन्दिरलाई विश्व सम्पदा स्थलका रुपमा सूचीकृत गराउने अभियान शुरु भएको हो । हालसम्म भएका प्रगतिको विवरण लगायत कागजात अभियानको तर्फबाट भोरले जनकपुरधाम उप महानगरपालिकाका नगर प्रमुख लाल किशोर साहलाई हस्तान्तरण गरि सकेको अभियानका राजकुमार महतोले बताउनुभयो ।
अभियान महतोको अनुसार युनेस्को, स्थानीय सरकार, नेपाल सरकार, जानकी मन्दिर लगायत जिम्मेवार नियकायहरुलाई निरन्तर घच्घचाउने काम अभियान मार्फत भइरहेको छ । महतोले जनकपुरधाम उपमहानगरपालिकाले प्रथम नगर सभामार्फत जानकी मन्दिरलाई विश्व सम्पदा स्थलको रुपमा सुचीकृत गराउने कार्यको अपनत्व लिइसकेको बताउँदै उहाँले पहिलो बाषिर्क नीति तथा कार्यक्रममा यसलाई समेट्दै नगर प्रमुख लाल किशोर साहले युनेस्को तथा पुरातत्व विभागमा छलफल समेत गरिसकेबो बताउनुभयो । उहाँले भन्नुभयो, ‘अगामी ३ देखि ४ वर्षभित्र जानकी मन्दिरलाई हामीले विश्व सम्पदाका रुपमा देख्ने सौभाग्य प्राप्त गर्नेछौं।’

जानकी अर्थात सीताको यो मन्दिर भारत मध्य प्रदेश स्थित टिकमगढकी राजकुमारी वृषभानु कुमारीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकोले यसलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको जानकी मन्दिर नेपालको ख्याती प्राप्त कलाको उत्कृष्ट नमुना मानिन्छ ।

जनकपुरमा राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन भदौमा झुला महोत्सव र १५ दिने मिथिला माध्यमिकि परिक्रमा धुमधामको साथ मनाईन्छ । यहाँ प्रत्येक महिनाको पूर्णिमामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन् ।

जानकी मन्दिर निर्माणको सवा सय वर्ष मात्र भए पनि यसमा स्थापित राम र जानकीका प्रतिमा झन्डै सात सय वर्ष पुराना भएको संस्कृतिविद्हरुको भनाई छ । जानकी मन्दिरको नाममा अहिले पनि संयौ विघा जग्गा रहेको छ ।

जानकी मन्दिर भित्र त्रेतायुगकालिन आभास झल्किेन संग्राहलय पनि रहेको छ । जसमा रामसीता, राजा जनक लगायतको पहिरणको नमुना र विभिन्न कलात्मक प्रतिमाहरु छन् । त्यस्तै जानकी मीन्दरमा विगत ५६ वर्षदेखि भइरहेको अखण्ड रामसीता भजन पनि अबलोकन गर्न सकिन्छ । जानकी मीन्दर अवलोकन एवं घुमघामका लागि यहाँ दैनिक हजारौ श्रद्धालुभक्तजन एवं यान्त्रिक तथा बाह्रय पर्यटकहरु आउने गर्दछन् ।

रामजानकी विवाह मण्डप

रामजानकी विवाह मण्डप जानकी मन्दिरसंगै टासिएर उत्तर छेउमा रहेको छ । जहाँ त्रेता युगमा भएको भगवान राम सीताको विवाहको झझल्को जस्तै मन्दिर भित्र प्रतिमाहरु हेर्न सकिन्छ । यस्तै विवाह मण्डपमा आकर्षक फुलवारी समेत रहेको छ । जानकी मन्दिर घुम्न आउने पर्यटहरु नछुटाई रामजानकी विवाह मण्डपको समेत अब्लोकन गर्ने गर्दछन् ।

पछिल्लो समय विवाहमण्डप आम जनताको विवाह गर्ने तथा विवाहको निर्णय लिने स्थलको रुपमा विकसित हुन थालेको छ । भगवान राम र सीताको विवाह भएको स्थल भएका कारणले पनि सो ठाउँमा विवाहको कुरा छिनोफानो हुँदा शुभ हुने र वर वधु आफ्नो वैवाहिक जीवन सफलतापूर्वक व्यतित गर्ने मान्यता अनुसार विवाह तय गर्ने स्थलको रुपमा विवाहमण्डपलाई लिईन्छ ।

मणि मण्डप

पौराणिक कालमा मिथिलाको राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामको विवाह सोही मणिमंडपमा सम्पन्न भएको जनविश्वास छ । मैथिली परम्परा अनुसार विवाह हुदा मडवा बनाई वैवाहिक कार्यक्रम सम्पन्न हुने चलन छ । त्यहाँ करिव २ मीटर लामो र त्यतिकै चौडा रहेको माटोको ढिस्को नै मडवा(मन्डप) हो भने जनविश्वास रहेको छ।

ऐतिहासिक तथा पौराणिक मिथिला मणिमण्डप प्रचार प्रसारको अभावमा ओझेलमा परेको थियो । तर पछिल्लो समय सरकार पक्षले संरक्षण सम्बद्र्धनमा ध्यान दिँदा र प्रचार प्रसार हुँदा पर्यटकको घुम्ने रोजाई मध्येमा मणिमण्डप समेत पर्न थालेको छ । जुन जानकी मन्दिरबाट झण्डै चार किलो मिटर उत्तरपश्चिम अर्थात जनकपुर उपमहानगरपालिका १३ रानीबजार स्थित अवस्थित छ ।

यस स्थानमा चारवर्ष अघि पुरातत्व विभागले उत्खनन गर्दा प्राचीन कालमा बस्ती भएको पर्याप्त प्रमाणहरु समेत फेला परेको थियो । विभिन्न माटाका भाँडाहरु, प्राचीन चुल्हो, खरानी लगायतका विभिन्न प्रमाणहरु मणि मण्डप क्षेत्रबाट फेला परेको छ ।

धार्मिक मान्यतामा विश्वास गर्नेहरुका अनुसार सोही चुल्होमा सीताराम जीको विवाहको बखत लावा भुटिएको थियो ।

जनकपुरको पिराडी चौक भन्दा करिब ३ किलो मिटर उत्तर पश्चिम कुनामा पर्ने मणिमण्डपमा रहेको मन्दिरमा सीतारामजीको दिव्य मुर्ति छ । मन्दिरको अगाडीमा रहेको पोखरीमा स्नान गर्नाले मानव प्रत्येक जुनीमा गरेको अनेक पापबाट मुक्ति पाउनुको साथै पुण्यको भागी बन्ने जनविश्वास छ । मंसिरमा हुने विवाहपचमीको अवसरमा हजारौ भक्तजनहरु मणीमण्डप समेत पुग्ने गरेका छन् ।

गंगा सागरको महागंगा आरती

जनकपुर घुम्ने ठाउँहरु मध्येको एक हो गंगा सागर । जहाँ सधैं सन्ध्याकालमा महागंगा आरती हुने गर्दछ । र भक्तजन एवं पर्यटकहरुको घुईचो लाग्ने गर्छ । धार्मिक एवं एतिहासिक तलाउ गंगासागर चारवर्ष अघिसम्म फोहर मैलाको चपेटामा परेको थियो ।

गंगासागर जनकपुरकै सबैभन्दा स्वच्छ सरोवरको रुपमा चिनिन्छ भने नित्य साँझ प्रसिद्ध मैथिली गायक सुनिलकुमार मलिकको संयोजन र स्वरमा भजन–प्रार्थना गुञ्जिन्छ ।

चारजना पुजारीबाट आरती हुन्छ । जहाँ श्रद्धालुभक्तजन र पर्यटकहरु शान्तिको अभाष गर्दछन् । अहिले यो गंगामहाआरती जनकपुरको सांस्कृतिक चिनारी नै बन्न बन्न पुगेको छ ।

जानकी मन्दिरको करिब ५ सय मिटर पूर्वमा पर्ने यो एतिहासिक गंगासागर आकर्षक स्थल बनेको छ । जहाँ श्रद्धालुभक्तजन र बाहिरी पर्यटक गएर फोटो र सेल्फी खिच्दै रमाउछन् ।

स्वर्गद्वार

फोहरै फोहर । मान्छे मरेपछि लास लिएर दाहसंस्कार गर्ने ठाउँ । मुर्दा जलाईसकेपछि दिउँसै जान डराउने ठाउँ । तर अहिले मुर्दा जलाउने त्यो ठाउँ त प्रेमीप्रमिकाको डेटिंग स्थल बनेको छ । जसलाई जनकपुरबासीले स्वर्गद्वार भनेर चिनिन्छन् । चिटिक्क परेको ठाउँ, रंगी विरंगी फुल, भुतनाथको मन्दिरसंगै रहेको आधुनिक दाहसंस्कार स्थल मशानघाट मात्र होइन पर्यटकीय गन्तव्य बनेको छ ।

यो प्रसिद्ध धार्मिक तथा एतिहासिक सरोवर गंगासागरको दक्षिण किनारमा पर्छ । जहाँ शव जलाईन्छ । अन्त्येष्टि गरिन्छ । एकातिर शव जलिरहन्छ र अर्का तिर त्यहि छेउमा मान्छे घुम्छन्, रम्छन् , किशोर किशोरी प्रेमका कुरा गर्छन् । फोटा र सेल्फी खिच्छन् ।

अहिले सबैका लागि आकर्षक स्थल बनेको छ स्वर्गद्वारी । जनकपुरका पूर्व व्यापारी एवं समाजसेवी पवन सिंहानियाले चन्दा संकलन गरी स्वर्गद्धारी निर्माण गरेका हुन् ।

धनुषाधाम मन्दिर

धनुषामै पर्ने जनकपुरभन्दा बाहिर रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल धनुषाधाम पनि हो । रमायणसंगै सम्बन्धित धनुषाधाममा धनुष मन्दिर रहेको छ ।

त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयबरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ ।

‘विष्णु पुराण’का अनुसार त्रिपुरासुर संग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष धनुषशंकर परशुरामलाई दिइएको थियो । पर्शुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए । तर राजा जनकले उक्त धनुष तोड्नेसंग नै आफ्नो छोरी जानकीको विहेको शर्त राखेका थिए । रामले तोडेको उक्त धनुष तीन टुक्रा भएको थियो ।

एक टुक्रा आकाश हुँदै भारतको दक्षिण प्रान्त रामेश्वर, दोस्रो टुक्रा पाताल र तेस्रो जनकपुरको धनुष क्षेत्रमा छन् । धनु खसेको जनकपुरको पोखरी धनुषसागरले चिनिन्छ । मध्यभागमा आएर खसेको ठाउँ धनुषाधाम रहेको धार्मिक विश्वास रहि आएको छ । किम्बदन्ती अनुसार अहिले पनि धनुषाममा धनुषको प्रत्यक्ष कण हेर्न सकिन्छ । धनुषधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ । धनुषको आकार वर्षेनी बढ्दै गएको स्थानीयहरु बताउँछन् ।

धनुषको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । भक्तजनले धनुषको टुक्रालाई पूजाआर्चना गर्दछन् ।

धनुषाधाम जनकपुरदेखि करिब १९ किमी उत्तरपूर्वमा रहेको धनुषाधाम नगरपालिकामा रहेको छ ।

यहाँ पन्ध्रदिने मध्यमा परिक्रमा एक दिन विश्राम गर्ने गर्दछन् । भने धनुषको टुक्रा अवलोकन र पूजार्चना गर्न दिनहु आन्त्रिक तथा बाह्रय पर्यटक एवं श्रद्धालुभक्तजन आउने गर्दछन् । यस स्थानमा प्रत्येक वर्ष माघ महिनाको प्रत्येक आईतवार मकर मेला आयोजन हुन्छ । र श्रद्धालुभक्तजनले मनोकाक्षा पुराभएपछि भण्टाभार चढाउने गर्दछन् ।

रामानन्द प्रवेशद्वार

जनकपुरमा प्रवेश गर्ने वितिकै देखिन्छ एउटा ठुलो प्रवेशद्वार । घुम्ने ठाउँ त के हुनु तर हेर्नमा नै विशाल र अकर्षक भएर होला । बाहिरबाट आउने श्रद्धालुभक्तजन र पर्यटक टक्क उभेर चारैतिर आँख दौडाउँछन् । रामानन्दचोकमा रहेको रामान्द प्रवेशद्वार आउने गरी फोटा र सेल्फी खिच्न छुटाउँदैनन् ।

जानकी मन्दिरबाहेक जनकपुरलाई चिनाउने दोश्रो चिनारीको रुपमा रामानन्द प्रवेशद्वारलाई लिईन्छ । चारवटा ठुलो पिलरमा बनाईएको रामानन्द प्रवेशद्वारको माथि स्वामी रामानन्दको प्रतिमा छ । चारवटै पीलरलाई सुरक्षित र आकर्षक बनाउने गरी पार्क निर्माण गरिएको छ । अहिले पार्कभित्र फुलको बगैचा, भित्ताहरुहरु रंगरोगन गरी मिथिला चित्रकला कोरिएकाले झनै आकर्षक देखिन्छ ।

केहि दिनसम्म यो प्रवेशद्वारलाई एसियाकै सबैभन्दा ठुलो प्रवेशद्वारको रुपमा दावी गरिन्थ्यो । यसलाई जनकपुरको गौरब समेत जनकपुरबासी मान्दछन् ।

वि.स.२०५० सालमा जानकी मन्दिरको पहलमा शिलान्यास गरिएको रामानन्द प्रवेशद्वार २०५६ सालमा निर्माण सम्पन्न भएको थियो । जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको संयोजकत्वमा निर्माण समिति बनेको थियो । एक करोड दश लाख रुपैयाँमा निर्माण गरिएको यस प्रवेशद्वारको संरक्षण सम्बद्र्धन र रेखदेख रामानन्द युवा क्लबले गर्दै आएको छ ।

धार्मिक पर्यटनको आयाम खोज्दैछ जनकपुर

यसरी प्रचुर र प्रशस्त पर्यटकीय सम्भावना बोकेको जनकपुर पर्यटकीय नजरले कम ध्यान दिँदा यसको विकास जुन रुपमा हुनु पर्ने हो त्यो हुन सकेको छैन।

आर्थिक समृद्धिका लागि पर्यटन उद्योगलाई मेरुदण्ड मान्ने गरिएको छ। प्रशस्त धार्मिक पर्यटन क्षेत्र रहेको प्राचीन मिथिलाको राजधानी र अहिले प्रदेश २ को राजधानी जनकपुरमै रहेकाले पनि पर्यटन क्षेत्रको तीव्र विकास हुनुपर्ने सरोकारवालाहरु बताउँछन्।

प्राचीनकालदेखि ज्ञानविज्ञान, धर्मदर्शन, कलासंस्कृति क्षेत्रमा प्रसिद्धि कमाएको जनकपुरलाई आकर्षक पर्यटकीय स्थलको रूपमा विकास गर्न सके यहाँका नागरिकको जीवनस्तरमा उल्लेख्य सुधार आउन सक्छ। सँगै, पर्यटकलाई आकर्षित गर्न सक्ने यहाँका प्राचीन चित्रकला, शिल्प, मूर्तिकला सहित संस्कृतिलाई धार्मिक पर्यटकीय संग्रहालयको रूपमा स्थापना गर्न सकिन्छ।

मिथिलाका प्रचलित चाडपर्व विवाहपञ्चमी, रामनवमी, छठ, मिथिला परिक्रमा, होली तथा मिथिला लोकगीत र नृत्यको आयोजना गरी सांस्कृतिक मनोरञ्जन पनि दिन सकिन्छ। मिथिला संस्कृतिको महत्वपूर्ण पक्ष लोकगीत, लोकनृत्य, कला, मठमन्दिर, कुण्ड आदिको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ।

जनकपुर विवाह भूमि वा आदर्श भूमिका रूपमा स्थापित भएकाले देश विदेशका जोडीहरूलाई विवाहका लागि आउने गन्तव्यस्थलका रूपमा पनि विकसित गर्न सकिने प्रदेश २ का उद्योग वाणिज्य संघका अध्यक्ष शिव शंकर साह हिरा बताउँछन्।

मिथिला पेन्टिङ विश्वबजारमा निकै चर्चामा रहेकाले यसलाई समेत विश्वसामु चिनाउनु आवश्यक छ।

भौतिक पूर्वाधारका हिसाबले जनकपुर सुगम धार्मिक स्थल हो। राजर्षि जनकको प्राचीन मिथिलाराज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मभूमि पनि यहीँ हो। संस्कृतिको धनी र धार्मिक पर्यटकीय क्षेत्रको प्रशस्त सम्भावना बोकेको एक सुन्दर देवस्थल पनि हो जनकपुर।

जनकपुरमा रहेका पुराना राम मन्दिर, नौलखा मन्दिरको रूपमा परिचित जानकी मन्दिर, राजा जनकले शिवधनुष पूजा गर्ने स्थानमा निर्मित जनक मन्दिर, लक्ष्मण मन्दिर, रत्नसागर मन्दिर, रङ्गभूमि मैदान नजिकैको हनुमानको संकटमोचन मन्दिर, स्वर्गद्वारीको भूतनाथ मन्दिर लगायतका धार्मिकस्थल एवं तालतलैया सरोवर र दैनिक रूपमा हुने गंगा आरतीले धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य स्थलका रूपमा जनकपुरलाई स्थापित गरेको छ।

अग्निकुण्ड, विहारकुण्ड, रसिक निवास, हनुमान दरबार, रानीपाटी, पीपरा कुटी पनि आकर्षणका केन्द्र बन्न सक्ने देखिन्छ। गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, ज्ञानकुप, अग्निकुण्ड, अरगजा, दशरथसर, गोडधोई, पापमोचनिसर, लक्ष्मणसागर जस्ता ५२ कुटी र ७२ कुण्डको प्रचारप्रसार गरे यहाँको पर्यटन विकासमा निकै टेवा पुग्ने देखिन्छ।

बृहत् विष्णु पुराण, वायु पुराण, शतपथ, भागवत, वाल्मीकि, रामायण, बृहदारण्यको पनिषद् जस्ता धार्मिक ग्रन्थहरूमा पूण्यभूमि, तपोभूमि र सर्वश्रेष्ठ तीर्थका रुपमा जनकपुरलाई उल्लेख गरिएको छ। जनकपुरक्षेत्रमा रहेका धनुषाधाम, जलेश्वर, गिरिजास्थानको पनि धार्मिक पर्यटनमा महत्वपूर्ण स्थान छ।

धार्मिक पर्यटन विश्वव्यापी पर्यटनको सबैभन्दा पुरानो रूप हो र जनकपुरमा यसको प्रशस्त सम्भावना छ। जनकपुरका मठमन्दिर र मूर्तिहरूबारे प्रचारप्रसार गरेर संसारभर चिनाउन सके जनकपुरको मात्र नभई नेपालकै पर्यटन क्षेत्र फस्टाउन सक्छ।

सरकारको नजर, व्यवसायीको आशा

पछिल्लो समयमा यस क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि सरकारले चासो दिएको छ। सरकारले पर्यटन कार्यालय जनकपुर, बृहत् जनकपुर क्षेत्र विकास परिषद मार्फत लगानी पनि गर्दै आएको छ। यसले मध्य तराईको सप्तरीदेखि सर्लाहीसम्मका धार्मिक पर्यटकीय स्थल, प्राकृतिक सम्पदाहरूको संरक्षण संवर्द्धन र पूर्वाधार निर्माणमा केही हदसम्म सहयोग पुगेको छ।

धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको भए पनि जनकपुर क्षेत्र सोचेजति प्रख्यात हुन सकेको छैन। जनकपुरको मठमन्दिर, कुटी, कुण्ड तथा यिनको महत्वका बारेमा रामायण लगायत विभिन्न संग्रहमा उल्लेख गरिएको पाइन्छ। यद्यपि, अहिले यी धार्मिक ऐतिहासिक महत्व बोकेका कुटी तथा पोखरीहरू झन्डै ५० प्रतिशत अस्तित्वमा छैनन् र बाँकी पनि धेरैजसो दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गएको छ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले प्राचीन धार्मिक महत्व बोकेको जनकपुरको जति प्रचारप्रसार हुनुपर्ने हो, त्यो हुन नसकेको बताउँछन्। ‘यसको महत्वका बारेमा विश्वसामु थाहा दिन सके धेरै पर्यटकहरू अध्ययन अवलोकन गर्न आउने थिए,’ उहाँले भन्नुभयो।

जनकपुर धार्मिक दृष्टिले महत्वपूर्ण भएका कारण बाह्रै महिना श्रद्धालुहरूको ओइरो लाग्ने गर्छ। यसलाई पर्यटकीय दृष्टिकोणले विकास तथा प्रचारप्रसार गर्न सके जनकपुरधामको सौन्दर्य अभिवृद्धि हुनुका साथै राजस्वको ठूलो स्रोत पनि हुन सक्ने प्रशस्त सम्भावना छ।

जनकपुरको पर्यटन विकासका लागि जनकपुर—चितवन—लुम्बिनी—पोखराको संयुक्त प्याकेज बनाएर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी रूपेश सिंहको भनाइ छ। ‘यसका लागि सबै पर्यटन व्यवसायीले यी चार क्षेत्रको प्रचारप्रसार गर्नुपर्छ, जनकपुर, चितवन, लुम्बिनी र पोखरालाई अन्तर्रा्ष्ट्रिय पर्यटन बजारमा चिनाउन यी क्षेत्रलाई जोड्ने हवाई तथा स्थलमार्गको आवश्यकता छ,’ उहाँले भन्नुभयो, ‘यी क्षेत्रलाई समेटेर पर्यटन व्यवसायी अगाडि बढ्न सके विश्वकै नमुना पर्यटकीय गन्तव्यस्थल बन्न सक्छ।’

पर्यटन व्यवसायी तथा होटेल वेलकमका संचालक अभिशेष झुनझुनबावालाले पनि जनकपुर—चितवन—लुम्बिनी—पोखराका पर्यटन व्यवसायीबीच समन्वय गरी प्याकेज तयार गर्नुपर्नेमा जोड दिन्छन्। जनकपुर आइपुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई चितवन, लुम्बिनी र पोखराको विशेषताका विषयमा जानकारी दिएर त्यसतर्फ पठाउन सकिए यहाँ आउने पर्यटकको बसाइ लम्बिने उहाँँको विश्वास छ।

जनकपुरको कला, संस्कृति, भेषभूषा तथा मिथिला कलालाई जगेर्ना गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पु‍¥याउन सके पर्यटनका साथै अन्य व्यवसायसमेत फस्टाउनेमा दुईमत छैन। जनकपुरको हिन्दु धार्मिक, चितवनको वन्यजन्तु, लुम्बिनीको बौद्ध धार्मिक र पोखराको प्याराग्लाइडिङ लगायत आकर्षक पर्यटकीय सम्भावनालाई अन्तराष्ट्रिय क्षेत्रसम्म चिनाउन पर्यटन व्यवसायीबीच समन्वय आवश्यक देखिन्छ।

जनकपुरमा सामान्यतया सेप्टेम्बरदेखि डिसेम्बरसम्मको मौसम सबैभन्दा अनुकूल हुन्छ। यसैबीच मिथिलाका सबै चाडबाड पनि पर्ने हुनाले पर्यटकको बसोबास मनोरञ्जनले भरिपूर्ण हुन सक्ने देखिन्छ। जनकपुरका सन्दर्भमा चितवन, लुम्बिनी, पोखरा, काठमाडौंमा केन्द्रित पर्यटनलाई अन्य क्षेत्रमा विस्तार गर्न सकिन्छ।

संस्कृतविद डा. सुरेन्द्र लाभले जनकपुर आउने तीर्थयात्रीलाई पर्यटकको रुपमा बदलिन सक्ने गरी गृहकार्यको आवश्यक्ता रहेको बताउनु हुन्छ ।डा. लाभका अनुसार अहिले जनकपुर आउनेहरु तीर्थयात्रीहरु मात्र हुन् । उनीहरु धार्मिक काम गर्छन् फर्कन्छन् । तीर्थयात्रीहरुले खासै खर्च गर्दैनन् । हामीलाई चाहियो पर्यटक । धेरै पैसा खर्चेर धेरै दिन बस्ने पर्यटक हामीलाई चाहियो । त्यो पूर्वाधार हामीले खडा गर्न सकेका छैनौं ।

डा. लाभले भन्नुभयो, ‘तीर्थयात्रीलाई पर्यटकमा बदल्न सरोकारवालाले होमवर्क गर्नुपर्छ । धर्म र मनोरञ्जनलाई जोडेर कहाँ–कहाँ उनीहरुलाई अल्झाउन सकिन्छ, यसबारेमा सोच्नुपर्छ ।’

जनकपुरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल र देवभूमिको रुपमा विकास गर्न सके प्रदेश २ को आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने बुद्धिजिवीहरु बताउँछन्।

पर्यटन भित्र्याउने योजना यस्तो छ जनकपुर उपमहानगर पालिकाको

सरकारले घोषणा गरेको महत्वाकांक्षी कार्यक्रम ‘नेपाल भ्रमण वर्ष २०२०’ एक वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने र देशैभर पर्यटन गतिविधि बढाएर रोजगारी सिर्जना गर्ने तथा आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य छ। संघीय सरकारको योजनाअनुसार प्रदेश र स्थानीय सरकार पनि भ्रमण वर्षको तयारीमा जुटेका छन्।
धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको जनकपुर पनि भ्रमण वर्षको तयारीमा जुटेको बताउँछन् जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह।
मेयर साहले जनकपुरले सहरको सबै मापदण्ड पूरा गरेको दाबि गर्नुभयो । उहाँले विगतमा झै अब जनकपुर लामखुट्टेले टोक्ने, गन्हाउने र फोहोर भएको जनकपुर नरहेको बताउँदै उहाँले जनकपुरमा आमूल परिवर्तन भइसकेको दाबि गर्नुभयो।
मेयर साहले भन्नुभयो, ‘यहाँ सडक विस्तार भएको छ। फुटपाथको व्यवस्थापन भएको छ। बिजुली–इन्टरनेटका तार र पानीको व्यवस्थापन भएको छ।’
मेयर साहको अनुसार जनकपुरभित्र पर्ने ३२ किलोमिटर सडकको कालोपत्रे फिनिसिङ हुँदैछ। २० किलोमिटरभन्दा बढी थप सडक विस्तार हुँदैछ। सहरका मुख्य सडकहरु विस्तारमा समस्या थियो। त्यो अहिले करिब–करिब सम्पन्न हुन लागेको छ। नगरभित्र ३० देखि ३५ किलोमिटरको पिसीसी ढलान भएको छ। विद्युत्को व्यवस्थापन भएको छ। बिजुलीका तारहरु सडकमा क्रसिङ भएको छैन। ११ मिटर हाइटको पोलहरु लगाइएको छ। अप्टिकल फाइबर लगाइएको छ। सहरको मापदण्ड जनकपुरधामले पूरा गरेको छ। इन्टरनेटको स्पिड पनि बढेको छ।
उहाँले भन्नुभयो, ‘यहाँ खानेपानीको व्यवस्थापन हुँदैछ। सडकको दुबै साइडबाट वायरिङ भएको छ। ट्राफिकको व्यवस्थापन पनि भएको छ। गन्हाउने नाली नियन्त्रण गर्दैछौं। अहिले हामीसँग ल्याण्डफिल्ड साइट छैन। तर पनि हामीले फोहोरको व्यवस्थापन गर्दैछौं। बाहिरबाट आएका पर्यटकका लागि राम्रो बनाइएको छ। तर पनि सडकको मापदण्डअनुसार काम गर्न र सडक व्यवस्थित गर्न अझै धेरै बजेटको आवश्यक छ। जसका लागि पहल पनि गर्दैछौं।’
मेयर साहले आफूहरु भर्खर दुई वर्ष पूरा गरेको बताउँद्रै उहाँले भन्नुभयो, ‘जनकपुरको विकासका लागि जनताले पनि योगदान गरेका छन् र जनप्रतिनिधिले पनि। किनकी जनकपुरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास र पुनस्र्थापना गर्न हामी सबै लागेका छौं। मिथिलाको राजधानी थियो, पौराणिक सहर थियो। त्यसैले प्रदेश दुईको राजधानीका लागि हामीले सम्पूर्ण तयारी गरेका छौं। आन्तरिक र बाह्य पर्यटकका लागि जनकपुर तयार छ।’
उहाँले जनकपुरसँग जोडिएका हुलाकी राजमार्गका सडकहरुलाई समन्वय गरी काम अगाडि बढाउन सहयोग गरेको जानकारी गराउँदै जनकपुरलाई मुस्लिम धर्मावलम्बीहरुको आस्थाको केन्द्र महोत्तरीको रौजाबजारलाई पनि जोड्ने काम भइरहेको र पूर्वी धनुषालाई जनकपुरधामसँग जोड्ने काम ६ महिनाभित्रमा पूरा हुने तरखरमा रहेको बताउनुभयो ।
मेयरले रेल्वे र एयरपोर्टको कनेक्टिभिटीलाई अगाडि बढाएको बताउँदै वर्षौ देखि पेण्डिंग रहेको ६–७ वटा सडक निर्माण कार्य पनि पुरा गराएको बताउनुभयो ।
पर्यटन वर्षमा विदेशी पर्यटकलाई जनकपुर ल्याउने योजना अन्तर्गत मेयर साहले भन्नुभयो, ‘जनकपुरधाम आस्थाको केन्द्र हो। नजिकको बजार भारतको छ। त्यहाँ हिन्दूको बाहुल्यता रहेकोछ। भारतबाट धार्मिक पर्यटक ल्याउन सकिन्छ। सांस्कृतिक सहर बनाउन सकिन्छ। त्यो गर्दैछौं तर केन्द्र सरकारको सहयोग भएन। राजनीतिक आस्थाका आधारमा केन्द्र सरकारले विभेद गर्नु भएन जनप्रतिनिधिहरुसँग।’
प्रदेश २ सरकारले जानकी मन्दिर सौन्दर्यकरण गर्दै


जानकी मन्दिरको सौन्दर्यीकरणका लागि वृहत गुरुयोजना निर्माण गर्ने सम्बन्धमा प्रदेश सरकारले पनि जुटेको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सक्रियतामा मंसीर २७ गते जानकी मन्दिर प्राङ्गणमा सर्वपक्षीय छलफल गरी जानकी मन्दिरको धार्मिक सांस्कृतिक महत्वलाई थप सशक्त बनाउनुका साथै धार्मिक पर्यटनलाई बढावा दिने उद्देश्यले बृहत गुरुयोजना निर्माण गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिरमा हाल जारी सौन्दर्यीकरणको काम आगामी तीन महिना भित्र सम्पन्न भएपछि यसको थप सौन्दर्यीकरणको लागि ऐतिहासिक तेलहा मरहा पोखरी, विवाह मण्डप सहितको संरक्षण प्रवद्र्धनको लागि वृहत गुरु योजना निर्माण गर्ने र त्यसको लागि प्रदेश सरकार, जानकी मन्दिर, जनकपुर उपमहानगरपालिका र पुरात्वविभागको संयुक्त प्राविधिक टोली निर्माण गरिने तयारी रहेको छ। उक्त टोलीलाई आवश्यक परे भारतीय साँस्कृतिक प्राविधिकको समेत सहयोग लिन सक्ने निर्णय भएको छ।
२०७५ मंसिर तेश्रो साता प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत ठूलो तामझामका साथ मन्दिर परिसरबाट ‘प्रदेश स्वच्छता अभियान’ सुरु गर्नु भएको थियो । अभियान अन्तर्गत जानकी मन्दिरमा मार्बल र टायल्स जडान, तीन मुख्यद्वार पुनर्निर्माण तथा ढलनिकास आदिका लागी ८ करोडभन्दा बढि बजेट विनियोजन गरिएको छ ।

धेरै पढिएको

ताजा समाचार