अवरुद्ध सडक खुलाउने क्रममा स्थानियको ढुँगामुढाले एसपी र प्रहरी जवान घाइते

धनुषा । ०७६ पुस २५ गते
धनुषाको मिथिला नपा–५ श्रीपुरमा स्थानियबासिन्दाहरुले पुस २५ गते विहानैदेखि बन्द गराएको सडक अवरुद्ध खुलाउने क्रममा प्रहरीले २५ राउण्ड अश्रुग्याँस प्रहार गरेका छन् । श्रीपुर बस्ने २५ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोको पुस २५ गते विहान ४ बजे औरही खोलामा टिपरले किचेर हत्या गरेको भन्दै आन्दोलित भएका स्थानियवासिन्दाले विहान ७ बजेदेखि महेन्द्रराजमार्ग अवरुद्ध गरेका थिए ।


घटना सुनियोजित तरिकाले घटाइएको भन्दै पिडित परिवार र स्थानियवासिन्दाले गरेको सडकजाम खुलाउने क्रममा धनुषाका एसपी करिव ४५ वर्षीय रमेशकुमार बस्नेत र इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी जवान ३० वर्षीय सचेन्द्र कुमार यादव घाईते भएका छन् । एसपी बस्नेतको हातमा सामान्य चोट लागेको छ भने प्रहरी जवान यादवको च्यूडा (मुखको तल्लो भाग) मा चोट लागेको धनुषाका एसपी बस्नेतले जानकारी दिनुभएको छ । प्रदर्शनकारीहरुले फालेको ढुँगाले चोट लागेको बताइएको छ । प्रहरीले वलपूर्वक अश्रुग्याँस र लाठीचार्ज गर्दै स्थानियबासिन्दाले बन्द गरेको सडक खुलाउन खोजेपछि स्थानियबासिन्दाहरुले प्रहरीमाथि ढुँगामुढा गरेका थिए ।


स्थानियवासिन्दाहरुको भीडलाई नियन्त्रण गर्न प्रहरीले २५ राउण्ड अश्रुग्यास प्रहार गरेको ढल्केवर प्रहरीले जनाएको छ । मिथिला नपा ५ स्थित औरही खोलामा अवैध रुपमा वालुवा, गिटटी उत्खन्न भई रहेको भन्दै दिलिप भनिने ओमप्रकाश महतोको नेतृत्वमा त्यहाँका युवाहरुले निगरानी समिती बनाएका थिए ।
भारतको भुपाल राज्यमा इन्जिरियरिङ्गको अन्तिम सेमेस्टरमा पढ्दै गरेका महतो १२ दिन अघि विदामा घर आएका थिए । स्थानिय चुरियामाई वालुवा प्रशोधन उद्योगले वालुवा गिटटी उत्खन्न गर्दै स्थानियबासिन्दाहरुको विरोधका वावजुद पनि रातिमा ओसार पोसार गर्दै आएको स्थानिय सन्तोष कुमार महतोको आरोप छ ।


वालुवा गिटटी ओसार्दै गरेको खवर पाएर छिमेकी साथी रोशन कुमार यादवसंग औरही खोलामा गएका महतोलाई टिपरले किचेर हत्या गरेको स्थानियबासिन्दाको आरोप छ । हाल क्रसरका संचालकहरु सम्पर्कविहिन भएका छन् ।

धेरै पढिएको

ताजा समाचार