
धनुषा । ०७६ पुस २६ गते ।
धनुषाको विदेह नगरपालिका १ ठाडिझिझाका २२ दलित सुकुम्वासी वस्तीमा पुस २६ गते दिउँसो डोजर लगाएर वस्ती हटाउने कार्यमा मानवअधिकारकर्मीहरुको समन्वयमा सुकुम्वासीहरुको वैकल्पिक जग्गाको व्यवस्थापन गरेपछि वस्ती हटाउने सहमति भएको छ । ठाडिझिझा १ बस्ने रामसागर ठाकुर वरहीले २०७२ सालमा पोखरीको सार्वजानिक डिल कब्जा गरेर स्थानियवासिन्दा सार्वजानिक जग्गा अतिक्रमण गरेको भन्दै जिल्ला अदालत धनुषामा मुददा दिनुभएको थियो । जिल्ला अदालत धनुषाले २०७५ जेठ ८ गते सो वस्ती खाली गराउने भन्दै फैसला गरेको थियो । अदालतको फैसला कार्यान्वयनका लागि डोजरसहित वस्ती खाली गराउन दलित वस्ती पुगेका जिल्ला अदालतका तामिलदार रुपेश झालगायतको टोली पुगेको थियो ।

दलित सुकुम्वासी वस्तीमा डोजर लगाएर भत्काउन लागेको खवर पाएर राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ का निर्देशक विरबहादुर बुढामगर, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश २ संयोजक राजु पासवान, इन्सेक धनुषा प्रतिनिधी दिपेन्द्रप्रसाद सिंहलगायतको टोली दलितवस्तीमा पुगेर तत्काल दलित वस्तीमा डोजर नचलाउन भन्दै पहल गर्नुभएको थियो । मानवअधिकारको टोलीले भत्काउन लागेको वस्तीका पिडित परिवार, विदेह नगरपालिकाका मेयर बेचन दास, वस्ती भत्काउन पुगेका जिल्ला अदालतका टोली र प्रहरीसंग समन्वय गर्दै तराइमा अत्यधिक शितलहर जारी रहेको वेलामा विना विकल्पको घर भत्काउन नहुने भन्दै तत्कालै वैकल्पिक व्यवस्था गर्न पहल गरेका थिए ।

विदेह नगरपालिकाका मेयर बेचन दासले वास्तविक सुकुम्वासीहरुको पहिचान गरि केही दिनमै नगरको अन्य ठाउँमा व्यवस्थापन गर्ने लिखित प्रतिवद्र्धता जनाएपछि वस्ती भत्काउन पुगेका अदालतका टोली, प्रहरी प्रशासन फर्केका हुन् ।

दलित वस्ती पुगेर डोजर रोकाउन सफल हुनुभएका इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले मानवीयताको हिसावले समेत विना व्यवस्थापन वस्तीमा शितलहरको वेला डोजर लगाउनु मानवअधिकारको हनन् हुने भएकाले गर्दा आफुहरुले खवर पाएलगतै राष्ट्रिय मानवअधिकार आयोगको समन्वयमा आएर डोजर रोकाउने पहल गरेको बताउनुभयो ।
दिपेन्द्रप्रसाद सिंह