मौसम पूर्वानुमान महाशाखाको विशेष बुलेटिन जारी, सतर्क रहन आग्रह

पुस २९, २०७६

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी सतर्क रहन आग्रह गरेको छ । बुधबार साँझदेखि नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसम परिवर्तन हुने भन्दै महाशाखाले सतर्क रहने सचेत गराएको हो ।

बुधबार राति देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै  उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो प्रणालीले बिहीबार बिहानबाट देशको मध्य भू-भागमा र साँझसम्ममा पूर्वी भू-भागमा प्रभाव पार्ने महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत छ । यो प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

धेरै पढिएको

ताजा समाचार