प्रदेश २ को राजधानी जनकपुर राख्नेमा दलहरु सर्वसम्मत

धनुषा, ०७६ माघ १२ गते ।
प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम राख्न प्रदेश २ का दलहरु सर्वसम्मत भएका छन् । प्रदेश २ का सभामुख सरोजकुमार यादवको संयोजकत्वमा प्रदेशको नामाकरण र राजधानीको विषयमा टुंगो लगाउन गठित संसदीय विशेष समितिको बैठकले प्रदेशको स्थायी राजधानी जनकपुरधाम राख्न दलहरुविच सहमति भएको छ ।
बैठकबाट जनकपुरधामलाई नै राजधानी राख्ने निर्णय सर्वसम्मतिले पारित भएको समितिका संयोजक समेत रहनुभएका सभामुख सरोजकुमार यादवले बताउनुभयो । राजधानी जनकपुरधाम राख्ने तर राजधानीको सिमानाका भने उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतीय सिमानाका, पूर्व र पश्चिमतर्फ मिथिला माध्यमिकी परिक्रमा क्षेत्रसम्म राजधानीको सिमा तोक्ने सहमति भएको हो । समितिले टुंगो लगाएको राजधानी जनकपुर प्रदेशसभाको दुईतिहाई बहुमतले पारित गरेपछि राजधानीको औपचारिक रुपमा कायम हुनेछ ।
विभिन्न दलका प्रस्तावक तथा समर्थक, प्रस्तावक संशोधनकर्ता समेतलाई बोलाएर छलफल गरी उक्त निर्णयमा पुगिएको सभामुख यादवले बताउनु भएको छ । पारित भएको प्रस्ताव नेकपा, समाजवादी र राजपाले दर्ता गरेका थिए भने नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाभित्र राजधानी हुनुपर्ने प्रस्ताव गरेको थियो ।
प्रदेशको राजाधानी र नाम सम्बन्धमा विभिन्न दलका सांसदहरूले प्रदेश सभामा भदौ ५ गते प्रस्ताव दर्ता गरेका थियो । प्रदेशको राजधानीको विषयमा विशेष समितिमा टुंगो लागेपनि नामको विषयमा सहमति हुन सकेको छैन । नामको टुंगो लगाउने विषयमा विशेष समितिमा छलफल भइरहेको सभामुख यादवले जनाउनुभएको छ ।
समितिमा उपसभामुख उपमा देव, नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव र सांसद नरेश यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव, नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, सांसद रामकुमार यादव, र संसदीय दलका उपनेता रामआशिष यादव, राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह र सांसद रानी शर्मा तिवारी तथा नेपाल संघीय समाजवादीकी सांसद सावित्रीदेवी साह सदस्य रहनु भएका छन् ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार