
धनुषा,फागुन १८ गते ।
मिथिलाञ्चलको सवैभन्दा लामो १५ दिने धार्मिक पदयात्राको आज आठौं विश्रामस्थल कञ्चनवनमा होली खेलिने भएको छ । हजारौंको संख्यामा सहभागि श्रद्धालुभत्तजनहरु आइतवार महोत्तरीको भंगहा वडा नं. ८ स्थित कञ्चनवन पुगेका छन् । धनुषाको कचुरी मठबाट सुरु भएको परिक्रमावासी कञ्चनवन पुगेर होली खेल्ने गरेका छन् । परिक्रमावासीलाई कञ्चनवनमा भंगहा नगरपालिकाका नगरप्रमुख संजिव साहलगायत स्थानियवासिन्दाहरुले भब्य स्वागत गरेका छन् ।
परिक्रमामा सहभागि श्रद्धालुभत्तजनहरुलाई रंग, अविर, फूलमाला लगाएर संघीय तथा प्रदेश सरकारका मन्त्रीहरुले बेलुका स्वागत गर्ने बताइएको छ । त्रेतायुगमा सीता र भगवान रामले रंग खेलि होली मनाएको धार्मिक विश्वासका साथ कञ्चनवनमा आइतवार बेलुका भब्य होली मिलन समारोहको आयोजना गरिने भएको छ ।
कञ्चनवनमा श्रद्धालुहरुले एक–अर्कालाई रंग, अविर लगाएर होलीको शुभारम्भ गर्ने धार्मिक एवम् पौराणिक परम्परा रहेको मिथिला बिहारी डोलाका महन्थ राम नरेश दासले बताए ।
वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट शुरू हुने मिथिला माध्यमिकी परिक्रमा १५ दिनमा नेपाल भारतको १३३ किलोमिटरको पदयात्रा पुरा गर्दै जनकपुरधाम पुगेर फागु पूर्णिमाको दिन अन्तरगृह परिक्रमा गरेपछि परिक्रमा सम्पन्न हुने गरेको छ ।