प्रचण्डमाथि जुत्ता प्रहार

धनुषा,०७६ फागुन १८ गते

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवा युद्धपीडित भएको छ।

जुम्लाका रतन तिरुवाले आइतबार राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार गरेका हुन्। उनको बुबा १० वर्ष माओवादी जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएको प्रहरीले जनाएको छ।

अध्यक्ष प्रचण्डलाई ताकेर जुम्लाका २२ वर्षीय रतन तिरुवाले जुत्ता प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी श्याम ज्ञवालीले नेपालखबरलाई बताए।

प्रहरी स्रोतका अनुसार उनका बुबा मोहन तिरुवा जनयुद्धमा राज्यपक्षबाट मारिएका थिए। रतन हाल काठमाडौँमा बसेर अध्ययन गरिरहेका छन्।

रतनले सभागृहमा आयोजित भरतमोहन अधिकारीको स्मृति कार्यक्रममा सम्बोधन सकेर मञ्चमा बस्न लाग्दा अध्यक्ष प्रचण्डलाई ताकेर हानेका थिए। तर, ताकेरै हानेको भए पनि जुत्ताले प्रचण्डलाई भने नलागेको प्रत्यक्षदर्शी बताउँछन्।

त्यसलगत्तै उनलाई प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबार पुर्‍याएको थियो। उनीमाथि अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धेरै पढिएको

ताजा समाचार