प्रादेशिक अस्पताल जनकपुरमा महिला स्त्री रोग विशेषज्ञ डाक्टरको अभाव


धनुषा, ०७६ फागुन २२ गते ।
जनकपुरस्थित प्रादेशिक अस्पतालमा महिला स्त्री तथा प्रसुति रोग विशेषज्ञको अभावले गर्दा महिला विरामी सेवाग्राही समस्यामा पर्दै आएका छन् । प्रादेशिक अस्पतालमा स्त्री तथा प्रसुति रोग विशेषज्ञमा ११ जना डाक्टर कार्यरत रहेकोमा एक जना महिला डाक्टर रुवि सिंह मात्रै रहेकी छिन् । डा. रुवि सिंह १५ दिनदेखि विदामा रहेको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालमा एक जनामा मात्रै कार्यरत महिला स्त्री रोग विशेषज्ञ लामो समयदेखि विदामा रहेकाले लैङगिक हिंसामा परेर अस्पतालमा स्वास्थ्य परिक्षण गराउन आउने महिलाहरु बढी समस्या पर्ने गरेको महिला अधिकारकर्मी शिला झाले बताइन् । अस्पतालमा महिला डाक्टर नभएकाले गर्दा महिलाहरु गम्भिर समस्या भई अस्पताल जानुपर्दा पनि इच्छाविपरित पुरुष डाक्टरबाट सेवा लिनु परि रहेको सेवाग्राहीले गुनासो गरेका हुन् ।
लैङ्गिक हिंसामा परेर अस्पतालमा स्वास्थ्य परिक्षण गराउन गएकी २० वर्षीय युवतीको महिला डाक्टर नभएपछि स्वास्थ्य परिक्षण हुन सकेको छैन् । फागुन १८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा पिडितले लैङ्गिक हिंसामा परेको भनि दिएको जाहेरीपछि प्रहरीले उनको स्वास्थ्य परिक्षण गराउन प्रादेशिक अस्पताल जनकपुरमा लगेका थिए । तर ती युवतीले आफुलाई स्वास्थ्य परिक्षण गर्ने डाक्टर महिला स्त्री रोग विशेषज्ञ नै हुनुपर्ने माग गरेपछि उनको स्वास्थ्य परिक्षण हुन सकेन् ।
लैङगिक हिंसा पिडित महिलाहरुको स्वास्थ्य परिक्षणले हाल महिला डाक्टर नभएकाले अन्य अस्पतालमा स्वास्थ्य परिक्षण गराउन सल्लाह दिएको अस्पतालका मेडिकल सुपरिटेन्ट डा. नागेन्द्र यादवले बताउनुभएको छ । अहिले हामीसंग महिला डाक्टर नभएकाले गर्दा अन्य अस्पतालमा स्वास्थ्य परिक्षण गराउन स्पष्ट सुझाव दिएको डा. यादवले बताए ।
यता, पिडितले स्वास्थ्य परिक्षणका लागि महिला डाक्टर माग गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले उनको स्वास्थ्य परिक्षण गराउन काठमाण्डौ पठाउने तयारी गरेको छ । पिडित युवतीको स्वास्थ्य परिक्षण हुन नसकेकाले मुददा दर्ता हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका महिला तथा बालवालिका सेवा केन्द्रका इन्चार्ज समेत रहनुका सई दिपिका ओझाले बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार