
दिपेन्द्रप्रसाद सिंह
धनुषा, ०७६ फागुन २३ गते ।
धनुषाको तत्कालिन भुचक्रपुर वडा नं.२ बस्ने विस्थापित भई हाल क्षिरेश्वरनाथ नपा –५ बस्दै ८२ वर्षीय शंकर महासेठ १६ वर्षदेखि बेपत्ता छोरा छत्र कुमार महासेठको अवस्थाबारे अनभिज्ञ रहनुभएको छ । तत्कालिन माओवादी पार्टीका कार्यरत रहेका ३२ वर्षीय छत्र कुमार महासेठलाई २०६० साल कार्तिक महिनामा माओवादी पार्टीकै कार्यकताहरुले धनुषाको मिथिलेश्वर मौवाहीमा पार्टीको भेला छ भनेर लगेको पिडित शंकर महासेठले बताउनुभयो ।
२०६० सालपछि आफुले छोराको पखाईमा रातदिन बाटो कुरेर बसेको बताउनुभयो । २ नातिहरु सानै हुँदा आमाको मृत्यु भएर टुहुरा भएका शशी कुमार महासेठ र सतिश कुमार महासेठलाई आफुले पालनपोषण गर्दै आएको बताउनुभयो । छोराको अत्तोपत्तो नभएर चारैतिर खोजी गर्दा पनि नभेटाएपछि डराएर शान्ति सुरक्षाको लागि महेन्द्रनगरमा आएर बस्न थालेको बताउनुभयो । घरको अभिभावक नै गुमाएपछि अहिले ८२ वर्षीय शंकर महासेठले आफनो छोराको अवस्था बुझन पटक पटक जिल्ला प्रशासन कार्यालय धनुषाको कार्यालयमा पटक पटक सम्पर्क गर्ने गरेको भएपनि आफुले अहिलेसम्म कुनै प्रकारको सहयोग नपाएको गुनासो गर्नुभयो ।
महोत्तरीको सोनपा गापा–३ बस्ने २९ वर्षीय रामश्रेष्ठ मण्डल कक्षा ७ मा पढ्दै गर्दा २०६० साल कार्तिक २२ गते राति घरमै सुति रहेको वेला माओवादी पार्टीमा लागेको भन्दै करिव उहाँका ३५ वर्षीय वुवा राजेन्द्र मण्डल, गाउँका छिमेकी दाजु २४ वर्षीय भागनारायण यादव, ५० वर्षीय काका रामचरित्र यादव, ४५ वर्षीय काका रामदेव यादव, ३० वर्षी दाजु सिंहेश्वर यादव र ३० वर्षीय काका विन्देश्वर यादवलाई घरमा घेरा हालेर नेपाली सेना र सशस्त्र प्रहरीको टिमले लगेको स्मरण ताजै छ । माओवादी पार्टी लागेको आरोपमा वुवालगायत ६ जनालाई एकैपटक समातेर सेनाको टोलीले लगेको भएपनि अहिलेसम्म उहाँहरुको अवस्थाबारेमा हामीलाई राज्यले अवस्था सार्वजानिक गर्न सकेका छैनन् । आफुहरुले अहिलेसम्म वुवा कहिले घर आउनुहुन्छ भनेर पर्खेर बसेको भएपनि राज्यको उदासिनताका कारण १६ वर्ष वितिसक्दा पनि वुवाको काजक्रिया समेत गर्न नसकेको गुनासो गर्नुभएको छ । राज्यले भने क्षतिपूर्ति वापत १० लाख प्रति व्यक्ति राहत उपलब्ध दिएको बताउनुभयो ।
महोत्तरीको वर्दिवास नपा –११ खयरमारा बस्ने बलराम लायो मगरको १७ वर्षीय छोरा खिमबहादुर लायो मगरलाई तत्कालिन माओवादीले २०६१ सालतिर घरबाटै पार्टीको काममा खटिनुपर्छ भन्ने लिएर गएको वुवा बलराम लायो मगरले आँखाबाट आँशु झार्दै बताउनुभयो । उहाँका अनुसार कलिलै उमेरमा छोरालाई माओवादीले पार्टीको काममा सहयोग गर्न भन्दै घरबाट लिएर गएपछि छोरा फर्केर घर नआएको दुखेसो पोख्नुहुन्छ । उहाँले छोराको अवस्था के छ भन्ने वारेमा आफुलाई अहिलेसम्म कसैले चित्त बुझाउन नसकेको बताउनुभयो । छोराको अवस्थाबारेमा बुझन जिल्ला प्रशासन कार्यालय, तत्कालिन स्थानिय शान्ति समिति, वेपत्ता पारिएको व्यक्तिको छानविन आयोगलगायतको राज्यको निकायमा जानकारी र उजुरी गरेको भएपनि अहिलेसम्म राहत समेत उपलब्ध नगराएको दुखेसो पोख्नुभयो ।
धनुषाको लक्ष्मीनिवास हाल बटेश्वर गाउँपालिका १ बस्ने तारादेवी महतोको ४० वर्षीय पति रामकरण महतोलाई माओवादी पार्टीमा लागेको भन्दै नेपाली सेनाले हत्या गरेको हो । २०६० साल कार्तिक ८ गते राति धनुषाकै तारापटटी सिरसियाका थुमौनास्थित पोखरीमा गोली हानेर हत्या गर्दै लास लिएर नेपाली सेनाको टोली लिएर गएका थिए । पतिको मृत्युको खवरले स सना ३ छोरी र ६ महिनाको काखे छोरा लिएर घर छोडेर छिमेकीको घरमा लुक्न बाध्य भएका थिए । पतिको हत्यापछि लास समेत नदिएपछि आफुहरुले अहिलेसम्म पतिको दाहसंस्कार समेत गर्न नसकेको बताउनुभयो । उहाँ त्यसपछि विस्थापित भएर महेन्द्रनगरमा आएर बस्नुपरेको गुनासो गर्नुभयो ।
तत्कालिन माओवादी जनयुद्धको क्रममा राज्य पक्ष र तत्कालिन विद्रोही पक्षको कारवार्हीमा परेर हजारौ सर्वसाधारण व्यक्तिको हत्या गरियो भने हजारौ व्यक्तिलाई वलपूर्वक नियन्त्रणमा लिएर वेपत्ता पारिएको छ । हजारौ सर्वसाधारणको हत्या गरेर परिवारजनलाई दाहसस्कार गर्न लास समेत दिएको छैन भने हजारौ पिडितहरु अझै विभिन्न प्रकारको यातना पाएर पनि बाहिर आएको छैन् । यस्ता घटनाहरुबारे सही तथ्य बुझेर पिडित परिवारलाई न्यायको साथै उचित क्षतिपूर्ति उपलब्ध गराएको पिडालाई कम गर्न राज्य अग्रसर हुनुपर्दछ ।