
दिपेन्द्रप्रसाद सिंह
धनुषा, ०७६ फागुन २५ गते ।
लाखौ श्रद्धालुभक्तजनहरुको सहभागितामा भोली सोमवार पञ्चकोशी परिक्रमा गरिने भएको छ । जनकपुरमा हुने पञ्चकोशी परिक्रमाको लागि श्रद्धालुभक्तजनहरु किशोरी जीको डोलासहित तयारी अवस्थामा रहेका छन् । धनुषाको मिथिलाविहारी नपा ३ को कचुरी मठबाट उठेको डोलालगायत जनकपुरको रत्नसागर मंदिर, जानकी मंदिरलगायतको विभिन्न मठमंदिरबाट भगवानको डोलासहित नेपाल भारतको १३३ किलोमिटर लामो १५ दिने पदयात्रा गर्दै श्रद्धालुभक्तजनहरुको आइतवार जनकपुर आएर विश्राम गरि रहेका छन् ।

जनकपुरधामको बारहविगहा रंगभुमि मैदान, तिरहुतिया गाछीलगायत, जानकी मंदिर, राममंदिर, रत्नसागर मंदिरलगायतको मठमंदिरमा श्रद्धालुभक्तजनहरुको घुँइचो लागेको छ ।
परिक्रमामा धनुषा, महोत्तरी, सिरहालगायत तराइ मधेशको विभिन्न भागका श्रद्धालुभक्तजनहरुको सहभागिताका साथै भारतको सिमावर्ती क्षेत्रका मधुवनी, सितामढीलगायतका जिल्लाबाट श्रद्धालुभक्तजनहरुको सहभागिता रहेको छ ।

१५ दिने पदयात्राको क्रममा श्रद्धालुभक्तजनहरुले नेपालको १३ स्थलमा १ सय ७ किलोमिटर र सीमावर्ती क्षेत्र भारतको २ धार्मिकस्थलको २६ किलोमिटरको पदयात्रा गर्दै जम्मा १ सय ३३ किलोमिटर पैदल यात्रा गर्दै साधुसन्त तथा श्रद्धालुहरू जनकपुरमा आइपुगेका हुन् ।
परिक्रमावासीहरु अहिले झाँकि, भजन किर्तन, बाजागाजा सहित मनोरञ्जन गर्दै विश्राम गरि रहेका छन् । सोमवार अन्तरगृह परिक्रमा सम्पन्न भएपछि मंगलवार जनकपुरधाममा होली मनाउने परम्परा रहेको छ ।



