
धनुषा, फागुन ३० गते ।
धनुषाको क्षिरेश्वरनाथ नपामा ६ जनाको मृत्यु र ३ जना सिकिस्त विरामी हुने गरि घरेलु मदिरा बेचेको आरोपमा २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया बस्ने रामानन्द साह र तारापट्टी वाली भन्ने एक महिलालाई पक्राउ गरिएको स्थानियले जनाएको छ । दुवैजनालाई प्रहरीले शुक्रबार दिउँसो उनीहरुलाई घरबाटै पक्राउ गरेको हो ।
‘मदिरा बेच्ने गरेको आरोपमा दुवैजनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएका हुन् । स्थानीयका अनुसार गाउँमै मदिरा उत्पादन गर्ने प्रहरीले पक्राउ गरेको हो ।
होलीको अवसरमा अत्यधिक घरेलुु मदिरा सेवन गर्दा रमदैयाका ६ जनाको ज्यान गएको छ भने ३ जना सिकिस्त भएका छन् । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विभाद मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा, राजु महरा र विजय सदा छन् ।