
धनुषा, ०७६ चैत्र ३ गते ।
नेपाल भारतमैत्री बस सेवा अवरुद्ध भएपछि सेवाग्राहीलाइ सास्ती खेप्नु परेको छ । प्रदेश २ को राजधानी जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्दै आएको बस सेवा बन्द भएपछि नेपाल भारतको यात्रा गर्नेहरुलाई समस्या भएको जनकपुर १० देवीचोक बस्ने अशोक साहले गुनासो गर्नुभएको हो ।
अशोक साहका श्रीमती विरामी भई नियमित रुपमा पटनाबाट चेकजाँच गराउँदै आएकाले बस सेवा बन्द भएपछि पटना जान ४ ठाउँबाट बस चढनुपर्ने बाध्यता रहेको बताउनुभयो । लामो दुरीको बस बन्द हुँदा छोटो दुरीको बसमा विरामीलाई लिएर जानुपर्दा समस्या अझै थपिएको साहले गुनासो गनुभयो ।
दुई वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट संयुक्तरुपमा दैनिक यातायातका लागि जनकपुर पटना नेपाल–भारत मैत्री बस सेवाको उद्घाटन गर्नुभएको थियो । नेपाल भारत मैत्री बस सेवा सुरुभएपछि यात्रुहरुलाई सहज थियो ।