
महोत्तरी, ०७६ चैत्र ९ गते ।
महोत्तरी जिल्लाको भारतको विहार राज्यसंग जोडिएको ११ वटा खुल्ला सिमानाका आजदेखि बन्द गरिएको छ । जिल्ला सुरक्षा समिती महोत्तरीले भारतसँग जोडिएको मलिवारा भिठामोड बाहेकको सबै सीमा नाका बन्द गर्ने निर्णय भएको बताएका छन् ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको सुरक्षा समितीको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि सुरक्षा सतर्कता अपनाउदै ११ वटा नाकाहरु बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
कोरोना भाईरस(कोभिड–१९) नेपाल भित्रिन सक्ने उच्च जोखिमका कारण सुरक्षा सतर्कता अपनाउदै समितीले मटिहानी नगरपालिकाका दुई वटा, मनरासिस्वा नगरपालिकाका पाँच वटा, सोनमा गाउँपालिकाका दुई वटा र सम्सी गाउँपालिकाका–दुई वटा नाका बन्द गर्ने निर्णय गरेको हो ।
महोत्तरीमा भारतसँग जोडिएका १२ नाकाहरु रहेका छन् । यी नाका बाहेक समेत नेपाल भारतबीचको सानो छोटीनाका र चोरबाटोहरु समेत नेपाली सुरक्षाकर्मीहरुको तर्फबाट बन्द हुने प्रजिअ खत्रीले बताए ।
भारतीय नागरिकसहित अन्य मुलकबाट आउने नागरिकलाई अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाउने रोक्ने निर्णय भएको बताए ।
भारतबाट नेपाल फकर्ने नेपाली नागरिकलाई सीमा नाकाबाट स्वास्थ्य जाँच गराई प्रवेश गर्न दिईने उनले बताए ।