सांसद अपहरण घटनाको छानविन धनुषाबाट सुरु


धनुषा, ०७७ बैशा २८ गते ।
जनता समाजवादी पार्टी नेपालका सांसद तथा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको अपहरण काण्डको अनुसन्धान धनुषामा बैशाख २८ गतेदेखि सुरु भएको छ ।

प्रहरी निरीक्षक देवीप्रसाद पौडेल नेतृत्वको टोलीले नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल र नेकपाका सांसदद्वय महेश बस्नेत तथा किसान श्रेष्ठले आफ्नो अपहरण गरेको आरोप लगाउँदै डा. यादवले दिएको जाहेरीअनुसार प्रहरीले अनुसन्धान सुरु गरेको हो ।


प्रहरी निरीक्षक पौडेल नेतृत्वको टोलीले बैशाख २८ गते सांसद डा.यादवले दिएको जाहेरीमा मुख्य साक्षीसमेत रहेको भनिएको जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बोलाएर २ घण्टा सोधपुछ गरेको नेता यादवले बताउनुभएको छ । पूर्वआईजीपी सहितको टोलीले सांसद डा. यादवलाई जनकपुरबाट काठमाडौँ लग्ने क्रममा सांसद यादवले सबैभन्दा पहिले बाटोबाट नेता यादवलाई फोन सम्पर्क गरेको जाहेरीमा उल्लेख छ ।


यसअघि अनुसन्धान टोलीले बैशाख २७ गते महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ४ स्थित गैढाभेटपुरमा रहेको सांसद डा.यादवको घर पुगेर सांसद डा. यादवको सालोलगायत छिमेकीहरुसंग समेत सोधपुछ गरेको सांसद यादवका स्वकीय सचिव सञ्जय यादवले बताउनुभएको छ ।

टोलीले काठमाडौँ जाँदै गर्दा उनीहरु बसेको तथा खाना खाएको भनिएको महोत्तरीको बर्दिवासस्थित गौतम होटल पुगेर पनि मुचुल्का उठाएको छ ।

धेरै पढिएको

ताजा समाचार