
काठमाण्डौ, ०७७ जेठ ४ गते ।
कोरोना भाइरस सङ्क्रमणका कारण काभ्रेको धुलिखेल अस्पतालमा २९ वर्षीया एक महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको मन्त्रालयले जेठ ३ गते साँझ एक विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो । वैशाख २३ गते त्रिविवि शिक्षण अस्पतालमा सामान्य सुत्केरी भएर उनी २५ गते घर फर्किएकी थिइन् । ज्वरो आउने र खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पताल हुँदै धुलिखेल आइपुगेकी उनको जेठ २ गते निधन भएको हो ।

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ सय ८१ पुगेको छ । सङ्क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सिरहामा भने पहिलो पटक सङ्क्रमित भेटिएको हो । योसँगै तराईका २१ मध्ये १९ जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । तराईका मोरङ र सुनसरीमा मात्रै अहिलेसम्म कोरोना सङ्क्रमण देखिएको छैन । प्रदेश २ का आठ ओटै जिल्लामा कोरोना सङ्क्रमित देखिएका छन् । सङ्क्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् ।