
घुस रकमसहित दैनिकजसो सरकारी कर्मचारी पक्राउ पर्ने गरेका छन् । सूचना र उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट रंगेहात दैनिकजसो सरकारी कर्मचारीलाई पक्राउ गरे पनि घुस लिने/दिने प्रवृत्ति भने रोकिएको छैन ।
सरकारी कर्मचारीले सानो सानो घुस रकमका लागि पनि आफूलाई दाउमा राख्ने गरेका छन् । पुसका नौ दिनमा अख्तियारले घुस रकमसहित १५ जनालाई नियन्त्रणमा लिएको छ, जसमा १२ जना सरकारी कर्मचारी, एक जना जनप्रतिनिधि र दुई जना सेवाग्राही छन् । उनीहरुबाट अख्तियारले कुल ३ लाख ६५ हजार ५०० रुपैयाँ बरामद गरेको छ ।
पुस ९ गते ललितपुरको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसीलाई अख्तियार टोलीले ३० हजार घुस रकमसहित पक्राउ गरेको छ । त्यस्तै रुपन्देही जिल्ला अदालतमा कार्यरत नायब सुब्बा बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्मालाई २ हजार घुस रकमसहित अख्तियारले नियन्त्रणमा लियो । पुस ९ गते नै सर्लाहीको मलंगवामा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंह ७० हजार रुपैयाँ रकमसहित रंगेहात पक्राउ परे । अख्तियार टोलीले पशुसेवा विभाग हरिहर भवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीलाई पनि पुस ९ गते नै ८ हजार ५०० घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
धनुषा इलाका प्रहरी कार्यालय यज्ञभूमि धारापानीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) कालिचरण पंजियारसहित २ जना पुस ५ गते १५ हजार घुस रकमसहित पक्राउ परेका थिए । अख्तियार टोलीले पुस ४ गते नवलपरासीको रामग्राम नगरपालिका १८ का वडाध्यक्ष गोपाल डिस्वा मगर र लेखनदास रविन्द्रप्रसाद यादवलाई २ लाख घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
त्यस्तै सरकारी कर्मचारीलाई घुस दिन खोज्दा पुस ३ गते सर्लाहीको बागमती नगरपालिका ८ सोल्टीबजारका श्यामकुमार बस्नेत १० हजार रकमसहित पक्राउ परेका थिए । पुस २ गते नै सरकारी कर्मचारीलाई घुस दिन खोज्ने स्याङ्जाको वालिङ नगरपालिका ८ बस्ने जहरुदिन तेलीलाई १५ हजार रकमसहित अख्तियारले पक्राउ गरेको थियो । सोही दिन जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवलाई १५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार टोलीले नियन्त्रणमा लिएको थियो ।
पुस १ गते पनि गुठी संस्थान त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई घुसबापतको रकम लिने/फिर्ता गर्ने विषयमा अनुसन्धानका लागि अख्तियार टोलीले पक्राउ गरेको थियो ।
मंसिरका २५ कार्यदिनमा २२ जना पक्राउ परेका छन्, जसमा एक जना जनप्रतिनिधि, एक जना सेवाग्राही र २० जना सरकारी कर्मचारी छन् । उनीहरुबाट अख्तियारले ३२ लाख ९९ हजार रुपैयाँ घुस रकम बरामद गरेको छ ।
प्रमुख आयुक्त नवीनकुमार घिमिरेका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा अख्तियारले १४२ वटा स्टिङ अपरेसन गरेको छ । स्टिङ अपरेसनका क्रममा २०० जनालाई नियन्त्रणमा लिएको छ । त्यसमा दुई जना विशिष्ट श्रेणी, दुई जना सहसचिव, १० जना उपसचिव र ३२ जना शाखा अधिकृत स्तरका कर्मचारी पनि छन् । त्यसबाहेक अख्तियारले १६ सय उजुरीमाथि सूक्ष्म अनुसन्धान गरिरहेको प्रमुख आयुक्त घिमिरेले जानकारी दिए ।