
धनुषा । ०७६ पुस १४ गते ।
प्रदेश २ को सदन झण्डै ४५ दिनपछि बसेर ४० मिनेटमै स्थगित गरेको छ । सोमबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा प्रदेश २ का प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध गरेर सदन चल्न नदिएपछि मंगलवार १ बजे फेरि बस्ने आह्वान गरिएको छ । प्रदेश २ मा जनता आवास,सांसदहरुको संसदीय कोषको कार्यविधि,सशर्त अनुदान लगायतका बिषयमा सरकारबाट समुचित रुपमा सन्तोषाजनक काम कारवाही नभएको भन्दै काग्रेस प्रदेशका सचेतक उपेन्द्र कुशवाहाले विरोध गर्दै काग्रेसका सांसदहरु आफनो ठाउँबाट उठेर विरोध जनाएका थिए ।
सांसदहरुले सरकारको जवाफ माग्दै विरोध जारी राखेपछि सभामुख सरोज रायले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । सोमवारको बैठकमा नेपाली कांग्रेस र नेकपाका सांसदहरुले आवाज उठाईरहँदा राजपा नेपालका सांसद उपेन्द्र महतोले समेत समर्थन जनाएका थिए । सांसद महतोले मुख्यमन्त्री लगायत वर्तमान सरकारमा रहेका मन्त्रीहरुले बदनीयतपुर्ण तरिकाले उपभोक्ता समितिलाई भुक्तानी गर्न आनाकानी गरिरहेको आरोप लगाउँदै उनीहरु अनुभवहिन रहेको जिकिर गरका थिए ।
सभामुखले पटक पटक सांसदहरुलाई आ आफ्नो स्थानमा बस्न आग्रह गरेपनि सांसदहरु उभिएर विरोध गरेपछि बैठक स्थगित गरिदै मंगलवार दिउँसो १ वजेसम्मको लागि स्थगित भएको घोषणा गरेका थिए ।