धनुषा,०७९ माघ १ गते । ६८ जना यात्रु र ४ जना चालक दलसहित ७२ जना सवारमा यति एअरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेको छ । दुर्घटनामा परेकामध्ये तीन जनालाई गम्भिर अवस्थामा जिवितै उद्धार गरिएको छ । गम्भिर घाइतेको उपचार भई रहेको छ । उद्धारकर्मीहरुले मृतकहरुको शव निकालेर सनाखत गर्ने काम भई रहेको जनाएको छ । अधिकांश शवको सहजै पहिचान हुने अवस्था नरहेको उद्धारकर्मीहरुले जनाएको छ ।
दुर्घटनाग्रस्त विमानमा २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सवार थिए । तीमध्ये ६८ जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । अन्यको शव खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित छ ।
विमानमा १५ जना विदेशी नागरिक थिए । तीमध्ये ५ भारतीय, ४ रुसी, कोरियाका २ र आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रान्सका एक–एक नागरिक विमानमा थिए ।
मृतकहरुको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।
सरकारले सवै आन्तरिक उडान गर्ने विमानको प्राविधिक चेकजाँच गर्न निर्देशन दिएको छ । अनिवार्य रुपमा प्राविधिक चेक जाँच गर्न सरकारले निर्देशन दिएको हो ।
यस्तै दुर्घटनाका प्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले दिवङ्गतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस घटनाको कारण जाँच गर्नका लागि पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर घटनाको बारेमा जानकारी लिनुभएको थियो । उहाँले राज्यको सबै शक्ति लगाएर भए पनि उद्धारमा कुनै कमी हुन नदिन सम्बन्धित पक्षलाई निर्देशन पनि दिनुभएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !