धनुषा,०७९ माघ ४ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम, सडक फराकिलो छ, तर पार्किङ अभावले सडक साँघुरो बन्दै गएको छ । सरोकारवाला निकायहरुको उदासिनताले जनकपुरको मुख्य सडकहरुमा जाम लाग्ने गरेको छ । जनकपुरको सडक बाटो फराकिलो पारिएको भएपनि स्थानियबासिन्दा, व्यापारी, व्यवसायीले पैदल यात्रु हिडने फुटपाथ कब्जा गरिएको छ । सडकमै ठेला, खुद्रा व्यापार र उपयुक्त पार्किङ अभावका कारण सडकमै सबारी साधन रोकेर राख्दा फराकिलो पारिएका सडक पनि साँघुरो भई सर्वसाधारणहरुलाई समस्या भई रहेको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा अहिले पार्किङको समस्या चुनौतिका रूपमा देखिएको छ । एसियाली विकास बैंकको ऋण सहयोग र सहरी डिभिजन कार्यालयले सडक तथा नाला निर्माणको कार्य गरेपछि फराकिलो भएको जनकपुरको सडकमा जनकपुरधाम उपमहानगरपालिकाले उचित पार्किङको व्यवस्था गर्न नसक्दा सडकमै पार्किग हुने गरेको छ ।

जनकपुरधामको चक्रपथको साथै जानकी मन्दिरलाई जोड्ने मुख्य–मुख्य सडकको स्तरोन्नती गरिएको छ । सडक र नाला निमार्णको क्रममा सडक फराकिलो गरिएको छ । वर्षौंदेखि साँघुरो बाटोले सडक फराकिलो भएपटि अहिले जामको सास्ती खेप्दै आएको छ । सडक फराकिलो भएर पनि ट्राफिक समस्या ज्यूँका त्यूँ हुने देखिएको छ ।
सडक फराकिलो भए पनि मुख्य–मुख्य चोकमा पार्किङ स्थल नभएकाले ट्राफिक समस्या देखिएको छ । जनकपुर नगर क्षेत्रमा सडक अस्तव्यस्त देखिँन थालिसकेको छ । जनकपुरधाम नगरभित्र पार्किङ स्थलको अभावले जनकपुरबाहिरबाट किनमेलका लागि आउँनेदेखि स्थानीय व्यापारी, व्यवसायीहरुले समेत सडक पेटीमै गाडी पार्किङ गरिरहेका छन् । जनकपुरधाममा सार्वजानिक, मठमन्दिर तथा गुठीको जग्गा त छन् तर, पार्किङस्थल भने बनाइएका छैनन् ।
होटल, अस्पताल र बैंकदेखि अन्य सरकाररी तथा निजी कम्पनी, व्यापार व्यवसाय सञ्चालन गर्नेहरूले पनि पार्किङको प्रबन्ध मिलाएका छैनन् । जसका कारण सवारी साधनहरु सडकपेटीमै पार्किङ गरिएका देखिन्छन् । यसले सर्वसाधारणहरूलाई आवत–जावतमा समस्या उत्पन्न हुन थालेको छ ।गाडी चालकहरुले सडकमै गरिएका पार्किङले समस्या सिर्जना भएको गुनासो गर्छन् । जनकपुरधाममा सडक फराकिलो भए पनि जथाभावि रुपमा गरिदै आएको पार्किङले नगरक्षेत्रभित्र गाडी कुदाउन समस्या हुने गरेको उनको दुःखेसो छ ।

जनकपुरधाममा अहिले दैनिक हजारौं सवारीसाधन एउटै चोकमा एक साथ कुदिरहेका हुन्छन् । सवारी चाप बढ्दै जाँदा पार्किङको व्यवस्थापनमा पनि सम्बन्धित निकायले ध्यान दिन पर्नेमा सरोकारवालाले जोड दिएका छन् । धनुषाका एसपी विश्वराज खडकाले जनकपुरको ट्राफिक व्यवस्थापन गर्न आफु अग्रसर रहेको बताए ।
जनकपुरधामको परिक्रमा सडकको निर्माणको कार्य पुरा भई सकेको छ । तर पार्किंङस्थल बनाउने छाटकाट देखिएको छैन । प्रदेशको राजधानी समेत भएकाले गर्दा जनकपुरधाममा अहिले सवारी साधनहरुको चाप पनि बढेको छ । तर सार्वजानिक स्थलहरुमा पार्किङको व्यवस्थापन नगरिएकाले सडकमै अव्यवस्थित तवरले गरिँदै आएको पार्किङले दिनहुँ सडक दुर्घटना निम्त्याउने गर्ने गरेको छ ।
जनकपुरधाममा अहिले ३ हजारभन्दा बढी अटो रिक्सा दिनहुँ चल्ने गरेको छ । मोटरसाइकल, चारपाङग्रे र ठूला सवारीसमेत नगरभित्र आउँदा जाँदा अझै समस्या हुने गरेको छ । अहिले दैनिक रुपमा जानकी मंदिरलगायतको दर्शन गर्न दर्जनौ ठुल ठुला बसमा भारतीय नागरिकहरु आउने गरेको छ । पार्किग अभावले बससहित भारतीय नागरिकहरु समेत राममंदिर र जानकी मंदिरमै पुग्ने गरेको छ, जसले गर्दा सडक नै अव्यवस्थित हुने गरेको छ ।
यता, जनकपुरधाममा सडक फराकिलो भए पनि सडकमा अव्यवस्थित पार्किङ हुँदै आएकोले यसलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीलाई पनि कम्ता सास्ती छैन । धनुषाका ट्राफिक प्रहरी प्रमुखलाई ट्राफिक समस्याले सताउने गरेको छ । प्रदेशको राजधानी जनकपुर भएपछि यहाँ अहिले निमार्ण कार्यका काम धमाधम भई रहेको छ, पुराना संरचना जिर्ण भएपछि जनकपुरका स्थानियबासिन्दाहरु सडकमै इटा, बालुवा, गिट्टी थुपारिएको, तोडिएको घर पुनःनिर्माण र मर्मत सम्भारको काम भइरहेको, निर्माण सामग्री सडकमै भएको जस्ता कारणले ट्राफिक व्यवस्थापनमा समस्या भई रहेको छ ।

जनकपुरधाम नगरभित्रमा अव्यवस्थित रुपमा गरिँदै आएको पार्किङले आवत–जावतमा मात्रै समस्या उत्पन्न भएको छैन, सवारीसाधन चोरिने पनि गरेको छ । अव्यवस्थित पार्किङले दर्जनौं मोटरसाइकल दिन दहाडै चोरी भएका छन् ।सडक पेटीमै गाडी पार्किङ गरिँदा कसैलाई आवत जावतमा समस्या भएर गाडी मिलाउन लागेको हो कि भनेर वास्ता नगर्दा मोटरसाइकल चोरिने गरेको छ ।
जनकपुरमा जानकी मंदिर,गुठी संस्थानलगायतको जग्गाहरु छ, जसमा पार्किगको व्यवस्थापन गर्न सकिन्छ, तर व्यक्तिगत लाभको लागि पावर र पहुँचको आधारमा कौडिको भाउमा निजी अस्पताल, कम्पनी,फर्मलाई जग्गा लिजमा रातारात दिएको छ । हजारौ हेक्टर जग्गा व्यक्तिगत नाममा गरिएको तर सार्वजानिक रुपमा गाडी पार्किङको व्यवस्थापनमा भने कसैको ध्यान जान सकेको छैन, पार्किङ स्थल निमार्णतर्फ जनकपुरधाम उपमहानगरपालिका, प्रदेश सरकारलगायत सरोकारवाला निकायहरुको ध्यान अविलम्ब जान जरुरी रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !